लन्डन । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट चर्चित कलाकारको प्रस्तुतिसहित सम्पन्न भएको छ ।
फानबोरो फुटबल क्लबमा शनिबार आयोजित १५ औं संस्करणको नेपाली ओपन कन्सर्ट भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रमुख अतिथि आचार्य, विशेष अतिथि रसमूर बरो काउन्सिलका मेयर, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर र मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरले रिवन काटेर उद्घाटन गरे ।
कार्यक्रमबारे प्रकाश पार्दै वरिष्ठ उपाध्यक्ष तथा नेपाली ओपन कन्सर्टका प्रमुख संयोजक लाल पुनले सहभागी सबैलाई स्वागत गरे । उनले कार्यक्रममा भरपूर मनोरञ्जन लिनेमा अपेक्षा राख्दै सहभागिताका लागि धन्यवाद व्यक्त गरे ।
संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत आचार्यले संगीतमार्फत सबैलाई एकीकृत गर्ने उद्देश्यले आयोजित नेपाली ओपन कन्सर्ट जस्ता कार्य मगर संघ यूकेले प्रशंसानीय रहेको बताए । नेपाली कला र संस्कृति जगर्ना तथा विस्तारका लागि मगर संघ यूकेले गर्दै आएको यस्ता कार्यबाट नेपाली कला र संस्कृति चिनाउने मद्दत पुग्ने र नेपाल र नेपालीलाई एकै ठाउँमा जुटाएर परम्परालाई अगाडि बढाउन पनि टेवा पुग्ने बताए ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांकृतिक राष्ट्र भन्दै कला र संस्कृति तथा पहिचानलाई जीवन्त राख्दै नेपाल र ब्रिटेनबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि मगर संघ यूकेले पुर्याएको योगदान सरहानीय रहेको उल्लेख गरे ।
अध्यक्ष सीता पुन मगरले बेलायतमा रहेका नेपालीहरुले कार्यक्रममा आइदिएर सहयोग गर्दा नेपाली ओपन कन्सर्ट १५ औं संस्करणसम्म आइपुगेको भन्दै अझै १५ औं हजार पटकसम्म मनाउन पाउनेमा दृढता व्यक्त गरिन् । उनले संगीतबाट एकताको निम्ति कार्यक्रम गर्दै आएको र सबैले निरन्तर सहयोग पुर्याउनेमा आशा व्यक्त गरिन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ यूकेका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, ट्रस्टी, संरक्षक, सल्लाहकारहरु, शाखाका अध्यक्ष, प्रतिनिधि, बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, काउन्सिरलहरु र बेलायतवासी नेपालीको बाक्लो उपस्थिति थियो ।
छोटो औपचारिक कार्यक्रम मगर संघ यूकेका महासचिव गुमानसिङ थापामगरले सञ्चालन गरेका थिए । त्यसपछि सांस्कृतिक सचिव सरु रानाले सांगीतिक कार्यक्रम अगाडि बढाएकी थिइन् । उद्घोषिकाको भूमिकामा भने रुपा रानामगर र पवन रानामगर स्टेजमा उत्रिएका थिए । कार्यक्रममा नेपाली ओपन कन्सर्टका लागि नेपालबाट आमन्त्रित कलाकारहरु ज्योति मगर, प्रमोद खरेल, छेवाङ लामा तथा स्थानीय कलाकारहरुले घन्टौंसम्म दर्शकलाई असिनपसिन हुने गरी नचाएका थिए ।