लन्डन । तमुधिं यूकेले बेलायत भ्रमणमा रहेका कास्की पोखरा महानगरपालिकाका उपमेयर, कलाकार र भूपू सैनिक माविका प्रधानाध्यापकको स्वागत तथा सम्मान गरेको छ ।
तमुधिं भवन मिचेटमा सोमबार एक कार्यक्रमबीच पोखराकी उपमेयर मञ्जु गुरुङ, गुरुङ चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङ, हास्य कलाकार रजनी गुरुङ (मंगली), लोकगायक पृथ्वी गुरुङ, लोकगायक सागर गुरुङ, अभिनेता साजन गुरुङ, भूपू सैनिक माविका प्रधानाध्यापक विनोद गुरुङ र विद्यार्थीहरुलाई स्वागत सम्मान गरेका थिए । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको आरम्भमा पाइपर धुनसहित प्रवेश गराइएका अतिथि र सहभागीलाई अध्यक्ष गुरुङ र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले खादा, फूलले स्वागत गरेका थिए ।
त्यसपछि महासचिव डा विशाल गुरुङ हेल्थ सेप्टी जानकारी दिँदै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम प्रमुख अतिथि एवं उपमेयर गुरुङ, अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशुराम गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको मध्यान्तरमा उपमेयर गुरुङ र कलाकारहरुलाई अध्यक्ष गुरुङले खादा र मायाको चिनो दिएर सम्मान गरेका थिए । त्यस्तै भूपू सैनिक आवासीय माध्यमिक विद्यालय बेसीसहर ७ लमजुङका प्रधानाध्यापक विनोद गुरुङ र विद्यार्थीहरु श्वेता तारा गुरुङ, रोजी कायस्थ, गोविन्द गुरुङ, अमृत गुरुङलाई पनि स्वागत गरेका थिए ।
स्वागत सम्मानपछि प्रधानाध्यापक विनोद गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, चलचित्र निर्देशक प्रितम गुरुङ, ट्रम्ड ग्रर्ल्स स्कुलका शिक्षक टम जोन्स, प्रमुख अतिथि उपमेयर गुरुङले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ट्रस्टीहरु सुबाससिंग गुरुङ बीईएम, सुर्जे रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, हित काजी गुरुङ र एकेन्द्र गुरुङ सहभागी थिए । सम्पूर्ण ट्रस्टीहरुको तर्फबाट एकेन्द्र गुरुङले छोटो मन्तव्य राखेका थिए ।
अन्त्यमा अध्यक्ष गुरुङले आफूहरुको आमन्त्रणलाई स्वीकार उपस्थित भएका प्रमुख अतिथि, अन्य अतिथिहरुलाई आभार प्रकट गर्दै कार्यक्रम व्यवस्थापन खटिएका कार्यसमिति, शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रममा तमुधिं यूकेबारे निर्मित डकुमेन्ट्री देखाइएको थियो ।