लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले आइतबार विभिन्न कार्यक्रमसहित नेपाली नयाँ वर्ष २०८० मनाएको छ ।
बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा आइतबार आयोजित समारोहमा पर्वत जिल्लाबाट आएर बेलायतमा बसोवास गरिरहेका पर्वते एवं गैर पर्वतवासी नेपालीहरुको उपस्थिति नयाँ वर्ष मनाइएको हो । कार्यक्रम उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ र वर्तमान अध्यक्ष अप्सरा गुरुङले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा बेलायत र नेपालको राष्ट्रिय गान बजाइएको थियो भने कोभिड महामारीमा दिवंगत आफ्ना सदस्यहरुप्रति श्रद्धान्जली अर्पण गर्न एक मिनेट मौनधारणसमेत गरियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै राजदूत आचार्यले २१ वर्षअघि स्थापित पर्वत समाजले गरेका सामाजिक कार्यहरुको तारिफ गरे । राजदूत आचार्यले समाजलाई विशेष गरि दुई महत्वपूर्ण दीर्घकालीन काम गर्न पनि सुझाए । पहिलो नयाँ पुस्तालाई नेपालसँग जोड्ने कार्यक्रम ल्याउन र अर्को पर्वत पर्यटकीय जिल्ला भएकाले पर्यटकीय आकर्षणबारे बेलायतीलाई आआफ्नो तर्फबाट प्रचारप्रसार गर्न उनको आग्रह थियो । नेपाली कला, संस्कृति र परसम्परा जगेर्ना गर्ने कार्यमा समेत सदैव लागिरहन राजदूत आचार्यले अनुरोध गरेका थिए ।
एनआरएनए अध्यक्ष कुल आचार्यले आफ्नो जन्मथलोका लागि केही गर्न आग्रह गर्दै संविधान बनेको ८ वर्ष बितिसक्दा पनि गैर आवासीय नेपाली नागरिकता विधेयक अझै पारित नभएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हालैको भेटमा स्मरण गराएको बताए । ‘मैले प्रधानमन्त्रीज्यूसँग सशक्त रुपमा एनआरएनए नागरिकता विधेयक पारितका लागि प्रक्रिया बढाउन माग गरेको छु । उहांले मलाई तीन महिना समय दिनु भन्नुभएको छ हामी आशावादी हुनुपर्छ,’आचार्यले भने ।
अध्यक्ष आचार्यले पहिलो गैर आवासीय नेपाली नागरिकता सुनिश्चित गरेपछि अरु विस्तारै माग्दै जान सकिने पनि बताए । ‘कतिपय साथीहरुले एनआरएन नागरिकताबारे भ्रम सृजना गरिरहनु भएको छ । कृपया त्यस्तो नकारात्मक प्रचार नगरौं,’उनले भने । उनले सरकारले सामाजिक सुरक्षा कोष व्यवस्था गर्नु पनि एनआरएन अभियानको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।
समाजकी अध्यक्ष अप्सरा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूके संस्थापक अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष दधि आचार्य, निवर्तमान अध्यक्ष नेत्र आले लगायतले शुभकामना दिएका थिए । अध्यक्ष गुरुङले अग्रजहरुको साथ सहयोगको अपेक्षा गर्दै संस्थाले गरेका विविध गतिविधिबारे प्रकाश पारिन् । उनले सहयोगी सबैप्रति आभार समेत व्यक्त गरेकी थिइन् ।
महासचिव सन्जयध्वज भण्डारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
उक्त अवसरमा समाजले ‘टप ५’ पर्वतेलाई सम्मान समेत गरेको छ । उक्त सम्मान पाउनेमा समाजका संरक्षक रविन्द्रजंग लामिछाने, संरक्षक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ र थर्क राना थिए ।
कार्यक्रममा कृतिका आचार्यले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु साहिमा श्रेष्ठ, रमिला न्यौपाने, सुदीप क्षेत्री, कृष्ण काफ्ले र सागर गुरुङले सुमधुर गीत प्रस्तुत गरेर मनोरन्जन प्रदान गरे । स्थानीय गायक बाबुराम भुषालले पनि गायन प्रस्तुत गरेका थिए ।