लन्डन । तमु प्ये ल्हु संघ युकेको १७औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
गत शनिबार ११ मार्च २०२३ को दिनमा गोर्खा प्यालेस रेस्टुरेन्ट अल्डरसटमा तमु प्ये ल्हु संघ युकेको साधरणसभा सम्पन्न भएको हो । गत ३-४ वर्षमा संसारभरि फैलिएरको कोभिड १९ को संक्रमणकालीन परिस्थितिले गर्दा प्राय: बैठकहरु जुम भर्चुअलमार्फत सञ्चालन गर्दै आइरहेको थियो भने हाल बेलायत कोभिड-१९ बाट उन्मुक्ति पाएपश्चात् तमु प्ये ल्हु संघ युकेले प्रत्यक्ष्य भेटघाट बैठक तथा पार्टी कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्दै आई रहेको छ ।
दिउँसोको खानापछि १ बजेतिर सुरु भएको उक्त कार्यक्रमलाई संघका महासचिव भवानी च्हम्रु तमुले सञ्चालन गरेका थिए । सचिवले बैठकमा उपस्थित सम्पूर्ण सदस्य महानुभावहरुलाई आसनग्रहण गराउँदै हल सम्बन्धित स्वास्थ्य तथा सुरक्ष सम्बन्धमा जानकारी गराउँदै कार्यक्रमलाई अगाडि बढाएका थिए ।
कार्यक्रमलाई औपचारिकरुपमा अगाडि बढाउँदै संस्थाका अध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमु, संघका प्रमुख सल्लाहकार रिटायर्ड मेजर खुशीमान ल्हेंगे तमु एमभिओ, तथा क्ल्हेप्री पैँडी चिवा दानबहादुर म्होब्छेँ तमुले सामूहिकरुपमा तमु प्ये ल्हु संघको एक पवित्र प्रतिक कोहिँबो धिं को स्मारिकाको अगाडि दिप प्रज्वलन गरेका थिए भने पच्यु गुरु देब गरब्जा तमुले मन्त्र वाचन गरेर उपस्थित सम्पूर्ण महानुभावहरुलाई आशीमलाँ दिएका थिए । लगत्तै विगत ३-४ वर्षभित्रमा विभिन्न कारणबस तमु प्ये ल्हु संघ युकेले गुमाउनुपरेका संस्थाका सदस्यहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । त्यसपछि संघका प्रथम उपाध्यक्ष्य पूर्ण क्रोम्छे तमुको स्वागत मन्तव्यलगत्तै गत वर्ष दिनहरुमा संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा विभिन्न तवरले, प्रत्यक्ष, अप्रत्यक्षरुपमा भित्रि आत्मैदेखि कडा परिश्रमी, कडा मिहिनेती र विभिन्न किसिमका साथ र सहयोग गर्दै आएका महानुभावहरुलाई फेटा र क्रमु ओढाई प्रमाणपत्रको साथमा सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमपश्वात् संघका अध्यक्षलगायत संघभित्र रहेका खेगी समितिका संयोजक डम्बर टु क्ल्हेप्री तमु, आमा समूहका संयोजक विष्णु टु क्ल्हेप्री तमु र युवा समूहका संयोजकलगायत सबैले आ-आफ्नो तर्फको वार्षिक गतिविधिको बारेमा प्रस्तुत गरेका थिए । त्यसैगरी महासचिव भवानी च्हम्रु तमुले गत वर्षभरि यस कार्यसमितिले गरेका विभिन्न कार्य गतिविधिहरुको बारेमा निकै लामो वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । कोषाध्यक्ष याम प्हच्यु तमुले आफ्नो मातहातभित्र रहेका सबै खाताहरुको हिसाबकिताब सम्बन्धित वर्षभरीको सबै आर्थिक प्रतिवेदन प्रस्टरुपमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी आवासीय परियोजनाका कोषाध्यक्ष उज्ज्वल टु क्ल्हेप्री तमुले आवासीय परियोजनाका संयोजक समूहको वार्षिक गतिविधिको साथै परियोजनाको लागि अहिलेसम्म संकलन भएका आर्थिक गतिविधिको बारेमा उपस्थित सबैलाई प्रस्ट पारेका थिए । तमु प्ये ल्हु संघ युकेअन्तर्गत यूकेमा रहेका खेगी गुरुहरुको प्ये ताँ ल्हु ताँ संरक्षण संयोजक क्याप्टेन देवराज ङ्होब्छैँ तमु, युवा समितिका सहसंयोजक सान्त प्हच्यु तमु, च्यारिटी कमिसन कन्भर्सनका संयोजक क्याप्टेन रामप्रसाद क्रोम्छैँ तमु, त्रिभाषिक तमु शब्दकोशका निर्देशक मण्डलका संयोजक क्याप्टेन नरबहादुर पर्जु तमु MVO, MBE र त्रिभाषिक तमु शब्दकोशका निर्देशक क्याप्टेन राजु लेम तमुले आ-आफ्नो क्षेत्रमा भइरहेका विभिन्न उपलब्धिहरुको बारेमा उपस्थित सबैलाई अवगत गराएका थिए ।
तमु प्ये ल्हु संघ यूकेका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर रिटायर्ड खुशीमान ल्हेंगे तमु एमभीओ, निर्वमान अध्यक्ष जगत प्हच्यु तमु, संघका सदस्य सुबाससिङ लेम तमु लगायतका महानुभावहरुले आ-आफ्नो धारणा राखेका थिए ।
अन्तमा दिनभरी कार्यक्रममा छलफल भएका धेरै महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै अध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमुले तमु प्ये ल्हु संघ युकेको १७औँ वार्षिक साधरणसभा समापन गरेका थिए ।