लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निमन्त्रणामा अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया लन्डन आइपुगेका छन् । उनी बीसीसीले आइतबार अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटी डिनर कार्यक्रमका लागि शुक्रबार साँझ लन्डन आइपुगेका हुन् ।
भारतस्थित बहुजन हितया इजुकेशनल ट्रष्ट एण्ड धम्मा पीया फाउन्डेशनका संस्थापक एवं अध्यक्ष, त्रिपुरास्थित एमएमडी कलेजका असोसिएट प्रोफेसर डा.धम्मापीयाले च्यारिटी डिनर कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । उनको स्वागतार्थ बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, बीसीसी यूकेका टुल्कु गुरु जिग्मे सामतेन, लोपन नोर्बु लन्डन हिथ्रो एयरपोर्ट पुगेका थिए ।
बीसीसी यूकेले विभिन्न उद्देश्यका साथ आयोजना गर्न लागेको च्यारिटी डिनर कार्यक्रममा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय मेयर, काउन्सिलर, विभिन्न संघसंस्थाका पदाधिकारी, भक्जन, चन्दादाता, बिसीसी यूकेका, शुभचिन्तक लगायतको बिशेष उपस्थिति रहने बीसीसी यूकेका कार्यक्रम संयोजक एवं उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए ।
४ सेप्टेम्बर साँझ ५ बजेदेखि एम्पायर हल अल्डरसटमा सुरु हुने च्यारिटी डिनर नाईट कार्यक्रममा धार्मिक अष्ट मंगल पाठ, प्रवचन, अक्सन, राफल ड्र, सम्मान, गीत तथा नृत्यलगायत विभिन्न प्रस्तुतिहरु रहनेछन् । साथै, च्यारिटी कार्यक्रममा सहभागी भइदिनहुन सबैमा बीसीसी यूकेले अनुरोध गरेको छ ।