भुमिराज राई
ब्रेकन, वेल्स । नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ बेलायतको ब्रेकनस्थित इन्फ्रेन्ट्री ब्याटल स्कुल (IBS) को मण्डले हलमा विशेष च्यारिटी ‘करी लन्च’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
ब्रिगेड अफ गोर्खाज मुख्यालय (Headquarters Brigade of Gurkhas) द्वारा सञ्चालित नेपाल बाढी राहत कोष संकलन अभियानलाई समर्थन गर्दै गोर्खा विङ (मण्डले) ले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा इन्फ्रेन्ट्री ब्याटल स्कुलका चिफ इन्स्ट्रक्टर, डिभिजन चेन अफ कमान्डका उच्च अधिकृतहरू, सेवारत बेलायती तथा गोर्खा सैनिकहरू लगायत निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस च्यारिटी लन्चले बाढी प्रभावित परिवारलाई प्रत्यक्ष आर्थिक सहयोग जुटाउनुका साथै राहत प्रयासबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। यस सामूहिक प्रयासले नेपाल र नेपाली जनताप्रति गोर्खा सैनिकहरूको अटुट ऐक्यबद्धता, सद्भाव र अप्ठ्यारो घडीमा सधैं साथमा रहने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
कार्यक्रमबाट संकलित सम्पूर्ण रकम एकमुष्ठ रूपमा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ।
पछिल्लो विनाशकारी बाढीले विश्वभर छरिएर रहेका नेपालीलाई मर्माहत बनाएको छ। पीडितको राहतका लागि विश्वभरबाट प्रधानमन्त्री राहत कोष लगायत विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउने अभियान जारी छ, जुन एक नेपालीलाई अप्ठ्यारो पर्दा सबै नेपाली एकजुट हुने मनकारी संस्कारको ज्वलन्त उदाहरण हो।