लन्डन । यूकेको अल्डरसटस्थित एम्पायर हलमा ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (एनआईएफएफ) २०२६’ सम्पन्न भएको छ ।
आइतबार २७ सेप्टेम्बरमा सम्पन्न महोत्सवमा नेपाल, भारतको सिक्किम र बेलायतबाट चलचित्रकर्मी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका थिए ।
महोत्सवमा भारतको सिक्किम राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री गे छिरिङ ढुंगेल विशेष अतिथिका रूपमा सहभागी थिए । लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहेको कार्यक्रममा बेलायतका सांसद एलेक्स बेकर र मन्त्री ढुंगेल विशिष्ट अतिथि थिए ।
महोत्सवको पहिलो चरणमा आदिवासी समुदायका डकुमेन्ट्री तथा चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा आदिवासी झाँकीसहित नेवारी, लिम्बू, मगर र सुनुवार समुदायका सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै उदाहरणीय काम गर्ने आदिवासी महिला तथा पुरुषलाई प्रमाणपत्रद्वारा सम्मानसमेत गरिएको थियो ।
महोत्सवमा नेपाल, भारतको सिक्किम र बेलायतका चलचित्र निर्माता, निर्देशक, अभिनेता, अभिनेत्री तथा विभिन्न विधाका चलचित्रकर्मीलाई अवार्ड, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो ।
आदिवासी फिचर चलचित्रतर्फ लिम्बू चलचित्र ‘मुन्दुम: अ सेक्रेट अफ सामसामा’ उत्कृष्ट चलचित्र घोषित भएको छ । मगर चलचित्र ‘रोश’ ले उत्कृष्ट छायांकनको अवार्ड पाएको छ भने गुरुङ चलचित्र ‘तेनोकुर्सी–ढोगभेट’ बाट राजेन्द्र खड्का उत्कृष्ट सम्पादक र गणेश गुरुङ (सुभाष) उत्कृष्ट लेखक घोषित भएका छन् ।
मगर चलचित्र ‘देसान (द इपिडेमिक)’ बाट भोला सापकोटाले उत्कृष्ट सहायक अभिनेता, नेवारी चलचित्र ‘इन्दिरा धिमे माइचा’ बाट रोजिना सुवालले उत्कृष्ट अभिनेत्री र सुरेन्द्र तुलाधरले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । लिम्बू चलचित्र ‘नुमाहाङमा’ बाट सिक्किमकी नियारा सुब्बा उत्कृष्ट डेब्यु निर्देशक घोषित भएकी छन् ।
नेवारी चलचित्र ‘जये लाखे’ ले उत्कृष्ट एनिमेसन चलचित्रको अवार्ड पाएको छ । छोटो चलचित्रतर्फ ‘टाङ्सिङ’ उत्कृष्ट छोटो चलचित्र र ‘चारधाम’ उत्कृष्ट छोटो चलचित्र जुरी अवार्डबाट सम्मानित भएका छन् ।
वृत्तचित्रतर्फ ‘बाल्ध्याङगढी’ उत्कृष्ट वृत्तचित्र घोषित हुँदा ‘विराटनगर के प्राचीन राजवंशी’ उत्कृष्ट एआई वृत्तचित्र बनेको छ । ‘तान्त्रिक डान्स’ ले उत्कृष्ट वृत्तचित्र जुरी अवार्ड प्राप्त गरेको छ ।
महोत्सवको ‘नेपाली पानोरामा’ विधामा ‘उनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ । उक्त चलचित्रबाट मिरुना मगरले उत्कृष्ट अभिनेत्री र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।
‘परान’ बाट निर शाह उत्कृष्ट अभिनेता तथा दीपक आचार्य उत्कृष्ट डेब्यु निर्देशक घोषित भएका छन् । ‘कोशेढुंगा’ बाट नहकुल खड्का उत्कृष्ट सम्पादक र ‘बिगुल’ बाट रमेश बुढाथोकी उत्कृष्ट चरित्र कलाकार बनेका छन् ।
‘सिटामोल’ बाट जानुका विश्वकर्माले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । सिक्किमको ‘तारा (द लस्ट स्टार)’ बाट श्यामा श्री शेर्पा उत्कृष्ट डेब्यु अभिनेत्री घोषित भएकी छन् । ‘सिटामोल’ बाट सौगात मल्ल र ‘गुन्यु चोलो’ बाट नाजिर हुसेनले जुरीतर्फ उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् भने ‘गुन्यु चोलो’ बाट समुद्र भट्टले उत्कृष्ट निर्देशक जुरी अवार्ड पाएका छन् ।
महोत्सव नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मेयर जितबहादुर बेलबासे, सिक्किम संगीत, नाटक, नृत्य तथा चलचित्र बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, सिक्किम कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय राई, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, विभिन्न जातीय संस्थाका अध्यक्ष, काउन्सिलर धनबहादुर सार्की, एनआरएन यूकेका प्रमुख संरक्षक डेबिट गुरुङलगायतको उपस्थिति थियो ।

त्यस्तै, फिल्म निर्देशक समाज नेपालका महासचिव तथा ‘गुन्यु चोलो’का निर्देशक समुद्र भट्ट, सोही समाजका सचिव तथा निर्देशक राजबहादुर साने, राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, निर्देशक उषा तामाङ, नेपाल चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मनोज केसी, निर्देशक दीपक आचार्य, निर्माताद्वय संगीता प्रधान र आकाश बुढाथोकी, अभिनेत्री उमा कार्की, अभिनेत्री जानुका विश्वकर्मा, सिक्किमकी अभिनेत्री श्यामा श्री शेर्पालगायतको सहभागिता थियो ।
कार्यक्रममा सल्लाहकार एकेन्द्र गुरुङ, अध्यक्ष सञ्जय राई, मन्त्री गे छिरिङ ढुंगेल, उपमेयर जितबहादुर बेलबासे र कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना मन्तव्य दिएका थिए । नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष गंगामाया दुराले स्वागत मन्तव्य राखेकी थिइन् ।
फेस्टिभल निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
उनले महोत्सवले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनुका साथै चलचित्र र संस्कृतिको माध्यमबाट विभिन्न समुदायबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग पुग्ने बताए ।