अल्डरसट, बेलायत । मगर महिला संघ यूकेले आफ्नो २९औँ स्थापना दिवस १३ सेप्टेम्बर २०२६, आइतबारका दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा संघकी अध्यक्ष सरला राना मगरको अध्यक्षतामा सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन तथा राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो । त्यसपछि विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा (निम्स दाइ), वर्षभरि दिवंगत भएका मगर समुदायका सदस्यहरू तथा भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा समाजसेवी गिभिना मगर, गायिका निता थापा मगर तथा १० जना मगर महिला व्यवसायीलाई सम्मान गरिएको थियो। सोही अवसरमा मगर महिला संघ यूके, स्विनडन शाखाले ‘लेडिज नाइट’बाट सङ्कलन गरेको रकम समाजसेवी गिभिना मगरलाई हस्तान्तरण गरेको थियो ।
त्यसैगरी, स्थापना दिवसका अवसरमा सङ्कलित रकममध्ये कार्यक्रम खर्च कटाएर बाँकी रकमको ५० प्रतिशत भोटेकोशी बाढी तथा पहिरोपीडितलाई सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सरला राना मगरले जानकारी दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । मगर संघका संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर, निवर्तमान अध्यक्ष सीता पुन मगर तथा ट्रस्टीहरू क्याप्टेन ताम धेगा मगर र जमुना पुन मगर विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा मगर संघ यूकेका पदाधिकारी, सल्लाहकार तथा विभिन्न शाखा समितिका अध्यक्ष एवं पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा प्रमुख अतिथि मेजर योगेश कोयी राई, संस्थापक अध्यक्ष थर्क राना मगर, अध्यक्ष लालबहादुर पुन (लालु) मगर, उपाध्यक्ष विष्णु श्रीस, पूर्वउपाध्यक्ष अनिता राना मगरलगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको औपचारिक सत्रको सञ्चालन महासचिव सरस्वती थापा मगरले गर्नुभएको थियो भने संघकी वरिष्ठ उपाध्यक्ष मनु पाइजा मगरले स्वागत मन्तव्य दिएकी थिइन् । सांस्कृतिक सत्रको सञ्चालन सांस्कृतिक सचिव यमुना आलेले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संघकी अध्यक्ष सरला राना मगरले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव, अतिथि, कलाकार, व्यवसायी महिला तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । साथै, आगामी दिनमा पनि संघका गतिविधिमा निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्दै २९औँ स्थापना दिवस कार्यक्रम समापन गरेका थिए ।



