लन्डन । नेपाली मेला २०२२ मा तमु समाज यूकेले उत्कृष्ट नृत्य प्रदर्शन गरी नृत्य प्रतियोगितामा पहिलो स्थान ओगट्न सफल बनेको छ ।
आइतबार २८ अगस्टका दिन लन्डनस्थित केमटोन पार्क रेसकोर्समा तमुधिं यूकेले आयोजना गरेको नेपाली मेलाको अवसरमा भएको नृत्य प्रतियोगितामा तमु समाज यूकेले बाजी मारेको हो । झाँकी प्रतियोगितामा सिक्लेस पार्चे समाज यूके पहिलो स्थान हासिल गर्यो । यस वर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेले जितेको छ र प्रथम पुरस्कारको ट्रफी, नगद ११०० पाउन्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
एम्बासडर कपको दोस्रो स्थान सिक्लेस पार्चे समाज यूके र तेस्रो स्थान तमु समाज यूकेले हात पारेका छन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश: ७०० पाउन्ड र ५०० पाउन्ड नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । घान्द्रुक समाज यूकेले एनआरएनए कप पनि जितेको छ ।
मेलामा किरात राई यायोक्खा यूकेले झाँकी र नृत्य दुवै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ यूके र चार भञ्ज्याङ तमु समाज यूके दुवैले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
नेपाली राजदूतावास लण्डनले प्रायोजन गरेको एम्बासडर कप नेपाली कला, संस्कार, संस्कृति र पहिचानलाई संगरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेलाको अवसरमा सांस्कृतिक झाँकी र नृत्य प्रस्तुतिको मूल्यांकन गरी प्रथम हुने समाज वा संघसंस्थालाई पुरस्कृत गरिन्छ ।
यस वर्ष नेपाली मेलाको झाँकी प्रतियोगिताको निर्णायक मण्डलमा बिमला सेने, गोमा राना, प्रमिला लाबुङ राई, पदम गुरुङ र कल्पना राई थिए । यसैगरी नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा सरु गुरुङ राना, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङ रहेका थिए । झाँकी तथा नृत्य प्रतियोगिताको उद्घोषकद्वय सूर्य गुरुङ र योगेश गुरुङलाई अन्य महिला उद्घोषिकाहरुले सघाएका थिए । तमु सामज यूकेले नेपाली मेलाको एम्बासडर कपमा भाग लिन अध्यक्ष शिवकुमार गुरुङ संयोजकत्व थिए ।
नेपाली मेला २०२२ को तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं यूकेका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरु र वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक हरि गुरुङलगायतका व्यक्तित्वहरुले संयुक्तरुपमा रिबन काटेर समुद्घाटन गरेका थिए ।
तमुधिं यूकेको अध्यक्ष हित काजी गुरुङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष हरि गुरुङको संयोजकत्वमा महासचिव परशुराम गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा नेपाली राजदूत आचार्य, दूतावासका पदाधिकारहरु, नेपालको छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञहरु, स्थानीय नेपाली काउन्सिलरहरु, नेपालका प्रशिद्ध संचारमाध्यमका संचारकर्मीहरु, स्थानीय संचारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित बेलायतका थुप्रै नेपाली समुदायहरुबाट हजारौंको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । नेपाली मेलामा तीन दर्जनभन्दा बढी नेपाली संघ संस्थाहरुले विभिन्न नेपाली कला, संस्कार र संस्कृति झल्काउने झाँकी र नृत्यहरु प्रदर्शन गरेका थिए ।