लन्डन। तमु समाज यूकेको आयोजनामा राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र ‘मर्कलीको विशेष प्रदर्शन ६ सेप्टेम्बर २०२६, आइतबारका दिन बार्हम पार्क, वेम्बलीस्थित तमु समाज यूकेको सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
तमु समाज यूकेका महासचिव सुव घले गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम समाजकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रारम्भमा समाजका उपाध्यक्ष केदार बहादुर गुरुङले उपस्थित अतिथि, कलाकार तथा दर्शकहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य दिएका थिए ।
तीन चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरण नेपालमा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिएको थियो। रसुवाको भोटेकोशी क्षेत्रबाट सुरु भई नुवाकोट, धादिङ र चितवन लगायत स्थानमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै १०८ दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो। सो अवसरमा बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरिएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवशरण गुरुङ, अर्जुनकुमार गुरुङ र शिवचन्द्र गुरुङ, चलचित्रका कथाकार तथा निर्देशक माओत्से तुङ गुरुङ तथा कलाकारहरू अर्चना गुरुङ र धर्मराज (राजु) गुरुङलगायतले दीप प्रज्वलन गरेका थिए ।
त्यसैगरी, कोने, घोन्डे, घोताने तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ, फार्नबरो गुम्बाका अध्यक्ष क्याप्टेन जीवन गुरुङ, कोने, घोन्डे, घोताने तमु समाज यूकेका संरक्षक हरिगोविन्द गुरुङ, तमु समाज यूकेका उपाध्यक्षद्वय केदार गुरुङ र मीरा गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ तथा युवा समूहका अध्यक्ष प्रज्ज्वल गुरुङसहित कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्य एवं दर्शकहरू श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा नेपाली राष्ट्रिय धुन बजाइएपछि राष्ट्रिय अवार्ड विजेता गुरुङ चलचित्र ‘मर्कलीको विशेष प्रदर्शन गरिएको थियो। झन्डै दुई घण्टा लामो चलचित्रमा बल बहादुर गुरुङ, गणेशमान घले, आश्मी गुरुङ र बबिता गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन्। कलाकारहरूले गुरुङ समुदायको पारिवारिक सम्बन्ध, प्रेम, त्याग, सामाजिक जिम्मेवारी तथा परम्परागत जीवनशैलीसँग जोडिएका पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, अर्चना गुरुङले परिवारलाई अनुशासन, माया र संस्कारमा बाँधेर राख्ने आमाको मार्मिक भूमिका निर्वाह गर्नुभएको छ भने धर्मराज (राजु) गुरुङले अतिथि कलाकारका रूपमा कथालाई थप प्रभावकारी बनाएका छन् । कलाकारहरूको स्वाभाविक र भावपूर्ण अभिनयले चलचित्रको कथावस्तुलाई जीवन्त बनाउँदै दर्शकहरूलाई भावुक बनाएको थियो।
चलचित्र प्रदर्शनपछि दर्शकहरूले आ–आफ्ना प्रतिक्रिया व्यक्त गरेका थिए। अधिकांश दर्शकले चलचित्र उत्कृष्ट, भावपूर्ण र मन छुने बनेको बताउँदै यसले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध तथा मौलिक जीवनशैलीलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।
तीन विशिष्ट व्यक्तित्वलाई सम्मान
कार्यक्रमको तेस्रो चरणमा चलचित्रका कथाकार तथा निर्देशक माओत्से तुङ गुरुङ, अतिथि कलाकार एवं नेपाली तथा गुरुङ गीत–सङ्गीत क्षेत्रका ख्यातिप्राप्त कलाकार धर्मराज (राजु) गुरुङ र चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी कलाकार तथा समाजसेवी अर्चना गुरुङको स्वागत तथा सम्मान गरिएको थियो।
स्वागत तथा सम्मान समारोहमा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले तीनै जना सम्मानित व्यक्तित्वको संक्षिप्त जीवनपरिचय प्रस्तुत गर्दै चलचित्र, गीत–सङ्गीत, कला–संस्कृति र समाजसेवामा उहाँहरूले पुर्याउनुभएको योगदानबारे प्रकाश पारेका थिए ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका–५, लामेमा जन्मेका माओत्से तुङ गुरुङ विगत डेढ दशकदेखि चलचित्र, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा सक्रिय छन् । लेखन, निर्देशन, निर्माण र अभिनयमार्फत गुरुङ भाषा, संस्कार तथा मौलिक पहिचानको संरक्षणमा योगदान पुर्याउँदै आउनुभएका उनले ‘टुकी, ‘मि न्होर्बै ट, ‘ङेल्स्यो, ‘मर्कली र ‘क्योई सा लगायत चलचित्रमा काम गरेका छन् । उनी नेफ्टा उत्कृष्ट निर्देशक सम्मान तथा ‘मि न्होर्बै ट र ‘मर्कलीका लागि राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारीमा जन्मनुभएका धर्मराज (राजु) गुरुङ नेपाली तथा गुरुङ गीत–सङ्गीत, चलचित्र, संस्कृति र समाजसेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । तमू (गुरुङ) कलाकार संघ नेपालका संस्थापक अध्यक्ष तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, बागमती प्रदेशका अध्यक्षसमेत रहेका उनी राष्ट्रपतिबाट ‘प्रबल जनसेवाश्री चतुर्थ श्रेणी–२०७७ द्वारा विभूषित भएका छन्। उनले ‘मर्कलीमा अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।
स्याङ्जाको बिरुवास्थित खुदीमा जन्मिएकी तथा हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी अर्चना गुरुङ कलाकार एवं समाजसेवी हुन् । पोखरामा रहँदा उनले ५/४ जीआर आमा समूहको अध्यक्षका रूपमा छ वर्षसम्म जिम्मेवारी सम्हालेकी थिइन् । सामाजिक सञ्जालमा ढिँरे आमा तथा ‘ढिँडो लभरका रूपमा परिचित उनले नेपाली मौलिक खाना, गाउँघरको जीवनशैली र संस्कृतिको प्रवर्द्धन गर्दै आएकी छिन् । ‘मर्कलीमा उनले निर्वाह गरेको आमाको मार्मिक भूमिकाले चलचित्रको कथा र भावनालाई थप जीवन्त बनाएको छ।
कला, चलचित्र, गीत–सङ्गीत, संस्कृति र समाजसेवाका माध्यमबाट गुरुङ समुदायको भाषा, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै तमु समाज यूकेले माओत्से तुङ गुरुङ, धर्मराज (राजु) गुरुङ र अर्चना गुरुङलाई “उत्कृष्ट समाज सेवा सम्मान” द्वारा सम्मानित गरेको थियो।
तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले समाजका तर्फबाट तीनै जनालाई खादा, फेटा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो। त्यसपछि समाजका पूर्वअध्यक्षहरू, अतिथि संघसंस्थाका प्रतिनिधि, सल्लाहकार तथा उपस्थित महानुभावहरूले खादा लगाएर उहाँहरूको स्वागत तथा सम्मान गरिएको थियो ।
सम्मानित कलाकारद्वारा कृतज्ञता व्यक्त
सम्मानपछि मन्तव्य राख्दै ‘मर्कलीका कथाकार तथा निर्देशक माओत्से तुङ गुरुङले चलचित्रको विशेष प्रदर्शन, आत्मीय स्वागत र आफूलाई प्रदान गरिएको सम्मानप्रति तमु समाज यूके परिवारलाई हृदयदेखि कृतज्ञता व्यक्त गरे । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कार, संस्कृति र सामुदायिक पहिचान संरक्षण गर्ने प्रभावकारी साधन भएको उल्लेख गर्दै उनले यस्ता चलचित्रको नियमित प्रदर्शनबाट नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्न सकिने बताए । तमु भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समाजले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि तमु समाज यूकेसँग जोडिएर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अतिथि कलाकार तथा गायक धर्मराज (राजु) गुरुङले आफू र चलचित्र टोलीलाई प्रदान गरिएको आत्मीय स्वागत, सम्मान र प्रतिष्ठाप्रति तमु समाज यूके परिवारलाई हार्दिक धन्यवाद दिए । निर्देशक माओत्से तुङ गुरुङले सरल, जीवन्त र यथार्थपरक चलचित्र निर्माण गर्दै आएको उल्लेख गर्दै उहाँले ‘मर्कली’ अत्यन्त भावुक र प्रभावशाली बनेको बताए । चलचित्र र गीत–सङ्गीतले समुदायको भाषा, संस्कार, संस्कृति तथा मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै उनले गुरुङ चलचित्रलाई निरन्तर माया र सहयोग गर्न दर्शकहरूलाई आग्रह गरे ।
चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी अर्चना गुरुङले चलचित्रको विशेष प्रदर्शनसँगै आफूले प्राप्त गरेको सम्मान, माया र आत्मीयताप्रति तमु समाज यूके परिवारलाई कृतज्ञता व्यक्त गरिन् । बेलायत आउने आफ्नो लामो समयदेखिको सपना पूरा गर्न सहयोग गर्ने समाजसेवी तथा आफन्तजनप्रति विशेष आभार व्यक्त गर्दै उनले नाताभन्दा मानवताको सम्बन्ध अझ ठूलो हुने अनुभूति आफूले गरेको बताइन् । आफ्नो भूमिकालाई दर्शकहरूले माया र तालीले प्रोत्साहन गर्दा आफू अत्यन्त भावुक तथा हर्षित भएको उनको भनाइ थियो।
कार्यक्रममा अतिथिका रूपमा उपस्थित कोने, घोन्डे, घोताने तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङले विशेष प्रदर्शन आयोजना गरेकोमा तमु समाज यूकेलाई धन्यवाद तथा चलचित्र निर्माण टोलीलाई बधाई दिए । आफू र श्रीमती मीना गुरुङले तमु समाज यूकेको स्थापनाकालदेखि नै समाजका गतिविधिबारे सुन्दै र हेर्दै आएको भए पनि पहिलोपटक सामुदायिक भवनमा उपस्थित हुने अवसर पाएकोमा उनले खुसी व्यक्त गरे । गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित महत्त्वपूर्ण चलचित्र निर्माण गरेकोमा उनले ‘मर्कली’का कथाकार, निर्देशक, निर्माता, कलाकार तथा प्राविधिक टोलीको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।
अध्यक्ष गुरुङ घलेद्वारा धन्यवाद
कार्यक्रमको समापनमा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले चलचित्रको विशेष प्रदर्शन भव्य र सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन् । उनले चलचित्रका कथाकार तथा निर्देशक,कलाकार एवं निर्माण टोलीका साथै समाजका संस्थापक तथा पूर्वअध्यक्षहरू, पदाधिकारी, आमा समूह, युवा समूह, आजीवन सदस्य, अतिथि, दर्शक, स्वयंसेवक, प्राविधिक तथा व्यवस्थापन टोलीको योगदानको उच्च प्रशंसा गरिन् ।
गुरुङ भाषा, कला, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्न चलचित्रजस्ता सिर्जनात्मक माध्यमको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै अध्यक्ष गुरुङ घलेले ‘मर्कली जस्ता चलचित्रलाई सबैले माया, साथ र प्रोत्साहन दिनुपर्नेमा जोड दिइन् । उनले चलचित्र टोलीलाई थप सफलता र उज्ज्वल भविष्यको शुभकामना दिँदै आगामी दिनमा पनि तमु समाज यूकेका सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यमा सबैको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा तमु मै ताँ यूकेका प्रतिनिधि मिनकाजी गुरुङले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए भने बिसन गुरुङले भिडियो तथा फोटोग्राफीको जिम्मेवारी सम्हालेका थिए । जलपानको व्यवस्था आमा समूहकी अध्यक्ष विमला गुरुङ नेतृत्वको कार्यसमितिले तथा भोजनको व्यवस्था दरबार रेस्टुरेन्टका सञ्चालक एवं तमु समाज यूकेका आजीवन सदस्य धनबहादुर गुरुङले गरेका थिए । साउन्ड सिस्टम र प्रोजेक्टर स्क्रिनको व्यवस्थापन युवा समूहका अध्यक्ष प्रज्ज्वल गुरुङ नेतृत्वको टोलीले गरेको थियो ।
औपचारिक रूपमा दिउँसो २ बजे सुरु भएको कार्यक्रम अध्यक्ष गुरुङ घलेको धन्यवाद मन्तव्य तथा समापन घोषणासँगै साँझ साढे ६ बजे सभ्य र सफल रूपमा सम्पन्न भएको थियो।





