पोखरा । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु) प्रमाणीकरण पाएको छ । २ घण्टा ८ मिनेटको फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन् ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक सङ्घर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ ।
फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्स मार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।
निर्देशक गुरुङले गोर्खाली सेनाको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र सम्बन्धको उतारचढावलाई कथामा समेटिएको बताए । धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उनको भनाइ छ ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् ।