आजभन्दा २५ वर्ष पहिले दाङमा आमा धनकुमारी मगर र बाबा गणेश मगरको पहिलो सन्तानको रुपमा जन्म लिएकी हुन् गिभिना मगरले । दुई भाइहरुको एक दिदी गिभिना हाल पोखरा-२५, हेम्जामा बस्छिन् । सानै उमेरबाट समाजसेवाप्रति लगाव राख्ने गिभिना सबैको प्रेरणाको स्रोत युवा सामाजिक अभियन्ताको परिचय बनाउन सफल भएकी छन् ।
७ वर्षको उमेरमा दाङबाट कास्की पोखरा आएकी हुन् उनी । आफैले पढ्ने किताबको जीवनीबाट अभिप्रेरित गिभिना सानैमा आफू पनि पछि ठूलो भएर नर्सिङ पेसामा आबद्ध भई समाजसेवा गर्ने सपना बोकेकी थिइन् । तर आर्थिक अवस्थाको कारण नर्सिङ पढ्न भने पाइनन् । पढिन् एजुकेशन विषय । अनि व्याचलर्ससम्मको अध्ययन पोखरास्थित कालिका क्याम्पसबाट पूरा गरिन् । त्यसपछि ८ वर्षअघिबाट शिक्षण पेसा अगाल्दै आएकी गिभिना हाल कुम्दिनी होम्समा पढाउँछिन् ।
सानै उमेरमा कक्षा ८ पढ्दाबाट नै माटोको भुड्कोमा थोरै थोरै पैसा जम्मा गरी हरेक वर्ष आफ्नो जन्मदिन कात्तिक १ गते भुड्कोको पैसा विन्दावासिनी मन्दिरमा गई असहाय तथा वृद्धाहरुलाई बिस्कुट बाँड्ने काम गर्थिन् । उनि भन्छिन्, 'सोही कार्य नै मेरो पहिलो समाजसेवा प्रतिको लगाव थियो ।'
सुरु सुरुमा त यसरी नै बिस्कुट बाँडेर नै खुसी साट्ने गर्थिन् । उनी करिब दुई वर्ष अगाडि सामान्यरुपमा एक भोका बुबालाई 'मुठी डंग गर्नु त बुबा' भन्दै २०० रुपियाँबाट सुरु भएको अर्को नयाँ सामाजिक सेवा प्रतिको पाटो आज सामाजिक संजालका कयौं पेजहरुमा, फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता पेजहरुमा उहाँबाट गरिएका सहयोगका भिडियोहरु पनि भेटाउन सकिन्छ ।
आजको मितिसम्म करिब ५०० जनाभन्दा बढी व्यक्तिहरुलाई मुठी ठोक्काई कयौं रकम सहयोग गरिसकिन् । ६० जनाभन्दा बढी व्यक्तिहरुलाई उद्धार गर्दै मानव आश्राममा पनि लगिसकेकी छिन् । कहिले वडा अध्यक्षसँग बोलेर त कहिले सामाजिक अभियन्ताहरुसँग बोलेर त कहिले सहयोगी मनहरुसँग जोडिएर धेरैभन्दा धेरै सहयोग जुटाइसकेकी गिभिनालाई साँच्चिकै देविकी अर्को रुपमा पनि चिन्न सकिन्छ ।
आफूले कमाएको पैसा घर खर्चभन्दा पनि समाजसेवामा त लगाउँछिन् नै बज्यैले दिएको चिनो उपहार सुनको सिक्री बेचेर पनि बिरामीलाई उपचार खर्च दिएकी छन् उनले । विद्यालय जाँदा जाँदै बाटोमा बिरामी, असहाय देखेपछि उनी कहिले विद्यालय पुग्न ढिलाई त कहिले बाटो मोड्छिन् । उनीसँग कति बिरामी त उपचार गर्दागर्दै मृत्यु भएको दु:ख अनि तितो अनुभव पनि छ । समाजसेवासँगै उनी म्युजिक भिडियोको मोडल पनि हुन् । तर मोडल पनि समाजसेवाकै लागि समाजसेवाको मोहसँगै पहिलो म्युजिक भिडियो खेलेबापत पाएको एक लाख रुपियाँ हेम्जाकै एक बालिकाको शल्यक्रिया खर्चमा पनि खर्चेकी थिइन् । दोस्रो म्युजिक भिडियोको वान् मिलियन भ्युज भएबापत पाउने रकम इन्डियाबाट उद्धार गरेर आफैले ल्याई संरक्षण दिइरहेकी देविका तामाङको लागि खर्चिने छिन्।
नि:स्वार्थ भावना बोकेकी गिभिनालाई भविष्यमा अझ बढी समाजसेवा अनि आश्राम खोल्ने ठूलो धोको छ । भोकानांगा र असहायहरुका लागि सेवा साथै आवाजविहीनहरुका आवाज वनि समाजसेवा जस्तो पवित्र कार्यमा सफलता मिलोस् भन्दै युवा समाजसेवी गिभिना मगरलाई सामाजिक, सांस्कृतिक, कलाकारिता एवं शैक्षिक क्षेत्रमा यथाशक्य योगदान गर्ने परोपकारी एवं पवित्र भावना लिई स्थापित स्टार्स फाउन्डेशन, कास्की नेपालले यस वर्ष 'स्टार्स समाजसेवी पुरस्कार २०७९' बाट सम्मान समेत गरेको छ ।