लन्डन । बाल विवाहविरुद्धको सशक्त सन्देश र महिला शिक्षाको महत्त्वलाई मुख्य विषयवस्तु बनाइएको नेपाली कथानक चलचित्र ‘गौँथली’ को बेलायतका विभिन्न सहरहरूमा भव्य प्रदर्शन भइरहेको छ ।
शुक्रबार (७ अगस्ट) देखि अल्डरसट लगायत बेलायतका दुई दर्जनभन्दा बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो । बेलायतका प्रमुख सहरहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। सेनी वर्ल्ड, भ्यू, साभोय लगायतका विभिन्न हलहरूमा यो चलचित्र प्रदर्शन भएको हो ।
डा. भोला रिजालको कथामा निर्माण भएको यस चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । आजभन्दा करिब ३० वर्षअघि नेपालको ग्रामीण भेगमा घटेका घटना तथा सामाजिक-पारिवारिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा उतारिएको छ । परिवारको मान, प्रतिष्ठा र सम्मानका लागि गरिने त्याग तथा बालविवाहले ल्याउने प्रभावलाई चलचित्रले प्रस्तुत गरेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयका साथै अरुण क्षेत्री, सिमरन खड्का, प्रकाश घिमिरे, लोनिभा तुलाधर लगायतका कलाकारहरूको सशक्त अभिनय एवम् जोडदार प्रस्तुति रहेको छ । शिक्षा—विशेष गरी महिला शिक्षाको अपरिहार्यतालाई जोड दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि उच्च लक्ष्य (चन्द्रमा छुने उद्देश्य) राखेर अघि बढ्नुपर्छ भन्ने सकारात्मक सन्देश चलचित्रले दिएको छ ।
गत शुक्रबार सेनी वर्ल्ड हलमा प्रदर्शन भएको विशेष प्रदर्शन कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए (NRNA) युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र योगेन क्षेत्री, बुद्धिस्ट कम्युनिटी सेन्टर युकेका संस्थापक अध्यक्ष लप्टन काजी शेर्पा, गोर्खा मिडियाका मिलन तमु, अन्य समुदाय लगायत बेलायतस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधि एवम् विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
डाक्टर कपिल रिजाल र सुमन गिरी द्वारा निर्मित गौँथली चलचित्रको मिठासपूर्ण प्रस्तुति, उत्कृष्ट निर्देशन र प्रशंसनीय अभिनयले दर्शकहरूको मन जित्न सफल भएको छ ।
शनिबार पनि चलचित्रको विशेष प्रदर्शन रहने जानकारी डाक्टर रजनी रिजालले जानकारी गराएकी छन् । साथै उक्त चलचित्र नेपालका विभिन्न सहरहरूमा गत साउन १ गते (जुलाई १७) देखि भव्य रूपमा प्रदर्शन भइरहेको छ ।