लन्डन । बेलायतमा पहिलोपटक नेपाली महिलाले फाइनान्सियल फर्म स्थापना गरेकी छन् । विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् । बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म हो ।
अनिताले सेवा मोर्गेजेजमार्फत बेलायतभरका सेवाग्राहीलाई सम्पूर्ण फाइनासियल सेवा प्रदान गर्ने लक्ष्य लिएकी छन् । मोर्गेज, प्रोटेक्सन, होम इन्सुरेन्स, विल्स, कन्भेन्सिंगलगायत सेवा आफ्नो फर्मबाट उपलब्ध गराएको उनले जानकारी दिइन् ।
सेवा मोर्गेजेजकी संस्थापक अनिताले ‘सर्टिफिकेट इन मोर्गेज एड्भाइस एण्ड प्राक्टिस’ (सिम्याप) योग्यता हासिल गरेकी छन् । सुरुमा केही वर्ष अन्य फर्महरुमा कार्य अनुभव बटुलेपछि उनले आफ्नै लगानीमा व्यवसाय स्थापना गरेकी हुन् ।
‘सेवा मोर्गेजेज बेलायतस्थित अन्य नेपाली दिदीबहिनीका लागि पनि उत्प्रेरक बनोस् भन्ने मेरो चाहना छ। महिलाहरु पनि सक्षम छन्, सबल छन् र जुनसुकै क्षेत्र वा व्यवसायमा उनीहरु पनि नेतृत्व गर्न सक्छन् र अघि बढ्न सक्छन् भन्ने सन्देश म दिन चाहन्छु’, अनिताले भनिन् ।
आफ्नो व्यावसायिक विकासमात्र नभइ समुदायमा महिला सशक्तिकरणको नमुना देखाउनु पनि उनको आकांक्षा हो । वीन्चेस्टरमा मुख्य कार्यालय रहेपनि सेवा मोर्गेजेजले बेलायतभरका सेवाग्राहीलाई सेवा उपलब्ध गराइएको जनाएको छ । सेवाग्राहीको सुविधाका लागि अहिले नै साताका सातै दिने सेवा खुला राखिएको छ ।
‘हाम्रो सेवा हरेक दिन बिहान ९ देखि बेलुकी ८ बजेसम्म खुला छ’, अनिताले भनिन्, ‘बेलायतको व्यस्त दैनिकीबीच पनि सबै सेवाग्राहीलाई सहज होस् भनेर अतिरिक्त समय र वीकेन्ड पनि हामीले सेवा उपलब्ध गराएका छौं ।’ सेवाग्राहीको सुविधाका लागि हरेक सेवा अनलाइन र टेलिफोन माध्यमबाटै प्रदान गरिने उनले जनाइन् ।
सेवा मोर्गेजेजले कम्पनी शुभारम्भको अवसरमा अहिलेलाई सेवा शुल्कमा ४० प्रतिशत छुटको अफर पनि उपलब्ध गराएको छ । सेवा शुभारम्भकै पहिलो महिना बित्न नपाउँदै यतिबेला अनिता आफ्नो टीम बिस्तारमा जुटेकी छन् । कार्यालय एड्मिन र केही एड्भाइजरहरु नियुक्ति अहिले प्रक्रियामा रहेको उनले बताइन् ।
सेवा मोर्गेजेजलाई सुरुवाती चरणमै प्राप्त प्रतिक्रियाहरुबाट अनितालाई थप हौसला मिलेको छ। ‘आफ्नै छोरी-चेलीले नयाँ काम गर्ने हिम्मत गरेकी भनेर धेरैले हौसला दिनुभएको छ। जसले मलाई मेरो लक्ष्यप्रति झन् प्रतिबद्ध र उत्साहित बनाएको छ’, उनले सुनाइन् ।