बेलायत । तमु धीं युकेको बैठक १९ जुलाई २०२६ आइतबार मिचेतस्थित आफ्नै भवनमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकमा ‘रेस फर लाइफ’ को समीक्षा गरिनुका साथै आगामी अगस्ट ३० मा हुने १७ औं नेपाली मेलाको तयारीबारे विस्तृत छलफल गरिएको थियो ।
बैठकको सुरुमा महासचिव डा. विशाल गुरुङले स्वागत गर्दै स्वास्थ्य सुरक्षा र एजेन्डाबारे जानकारी दिए भने वरिष्ठ उपाध्यक्ष परशु गुरुङले सहभागीहरूलाई स्वागत मन्तव्य राख्दै स्वागत गरेका थिए । पहिलो चरणमा तमु धीं यूके आमा समूहकाे आयोजनामा गत १८ जुलाईमा आयोजना गरिएको ‘रेस फर लाइफ’ समिक्षा गरिएको थियो ।
‘रेस फर लाइफ’ को समीक्षा गर्दै आमा समूहकी अध्यक्ष कमला देवी गुरुङले परोपकारी कार्यक्रममार्फत संकलित रकममध्ये ३ हजार ५ सय पाउण्ड क्यान्सर रिसर्च युकेलाई प्रदान गरिएको बताइन् । बाँकी रहेको बचत रकम नेपालका विभिन्न सामाजिक कार्यमा खर्च गरिने र त्यसका लागि उपयुक्त स्थान र क्षेत्रबारे आगामी बैठकले निर्णय गर्ने उनले जानकारी दिइन् । यस पुण्य कार्यमा सहयोग गर्ने सबै कार्यसमितिको टिम, डोनर, लण्डन एकाइका अध्यक्ष देबकला गुरुङ, लमजङ समाज यूकेका आमा समूहका अध्यक्ष तारा गुरुङ, सेभेन सिस्टरको पार्वती गुरुङको टिमलगायत सबै सहयोगीहरूलाई उनले धन्यवाद दिएकी थिइन् ।
यसैगरी, तमु धीं यूके र नेपाली दूतावासको सहकार्यमा आगामी ३० अगस्टमा केम्पटन पार्कमा आयोजना हुन लागेको १७ औं नेपाली मेलाको तयारीलाई तीव्रता दिने निर्णय भएको छ । मेलाका संयोजक एवं उपाध्यक्ष कमल गुरुङले पावर पोइन्टमार्फत कामको बाँडफाँड र जिम्मेवारीबारे विस्तृत खाका प्रस्तुत गरे । सो अवसरमा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, ट्रष्टीहरू सूर्य गुरुङ र एकेन्द्र गुरुङ, सल्लाहकारहरू क्याप्टेन जीवन गुरुङ र क्याप्टेन राजु गुरुङ, एवं आमा समूहकी महासचिव शान्ता गुरुङ लगायतले मेलालाई विगतभन्दा उत्कृष्ट र व्यवस्थित बनाउन आ–आफ्ना सुझाव र जिज्ञासाहरू राखेका थिए ।
बैठकमा बिन्दुवासिनी हाइड्रोपावरका प्रबन्ध निर्देशक ओम गुरुङ र बीसीसी युके आमा समूहकी प्रमुख शारदा गुरुङलाई संस्थाका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले फेटा, खादा, पछ्यौरी र फूलको गुच्छाले स्वागत तथा सम्मान गरेका थिए । सो क्रममा आमा समूहकी निवर्तमान महासचिव यशोदा गुरुङले आमा समूहलाई विशेष उपहारस्वरूप मफलर प्रदान गरेकी थिइन् । सम्मानित अतिथि ओम गुरुङले तमुधीं युकेले प्रदान गरेको यो न्यानो आतिथ्यता र सम्मानप्रति आभार प्रकट गर्दै आफू सधैं ऋणी रहने बताए ।
बैठकको अन्त्यमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र नेपाली मेलाका संयोजक तथा उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाका लागि प्राप्त सुझावका आधारमा आगामी याेजना बनाउने बताउँदै अध्यक्ष गुरुङले बैठकमा उपस्थित सबैलाई धन्यवाद् दिदै बैठक समापन गरेका थिए ।



