लन्डन । बेलायतबाट चारधाम तीर्थयात्राका लागि गएको ३२ सदस्यीय टोलीमध्ये २६ जना १६ दिनको सफल धार्मिक तथा सांस्कृतिक यात्रा सम्पन्न गरी जुलाई १२ मा सकुशल लन्डन फर्किएका छन् ।
टोलीका सदस्य अनिता जेनकिन्स र अप्रिल ग्यालन्गर भने जुलाई १० मै लन्डन फर्किएका थिए । होम कुँवर र लक्ष्मी कुँवर देहरादूनमा रहेका आफन्तसँग भेटघाट गर्न जुलाई १० मा टोलीबाट छुट्टिएका थिए भने राजेन्द्र श्रेष्ठ र दुर्गा श्रेष्ठ लन्डन जाने टोली दिल्लीबाट उडेपछि काठमाडौँ प्रस्थान गरेका थिए ।
भ्रमणका संयोजक शुष्मा गुरुङ र सहसंयोजक शर्मिला गुरुङले चारधाम यात्रा सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागी, सहयोगी तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरेका छन् ।
यस यात्राका क्रममा हिन्दू धर्मका चार प्रमुख तीर्थस्थल यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शन गरिएको थियो । चारधाम हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्र तीर्थयात्रा मानिन्छ । यमुनोत्रीलाई यमुना नदीको उद्गमस्थल तथा जीवन र शुद्धताको प्रतीक, गंगोत्रीलाई पवित्र गङ्गा नदीको उद्गमस्थल, केदारनाथलाई भगवान् शिवका बाह्र ज्योतिर्लिङ्गमध्ये एक तथा बद्रीनाथलाई भगवान् विष्णुको प्रमुख धामका रूपमा श्रद्धापूर्वक पुजिन्छ। यी चारधामको दर्शनले आध्यात्मिक शान्ति, पुण्य प्राप्ति र मोक्षको मार्ग प्रशस्त हुने धार्मिक विश्वास रहिआएको छ।
बद्रीनाथबाट ऋषिकेश फर्कने क्रममा टोलीले अलकनन्दा नदीमाथि अवस्थित प्रसिद्ध माँ धारी देवी मन्दिरको दर्शन गरेको थियो। उत्तराखण्डकी संरक्षक देवीका रूपमा श्रद्धापूर्वक पुजिने धारी देवीलाई प्राकृतिक विपत्ति तथा दुर्घटनाबाट रक्षा गर्ने शक्तिका रूपमा विश्वास गरिन्छ। स्थानीय जनविश्वास अनुसार देवीको कृपाले सम्पूर्ण क्षेत्रको सुरक्षा हुने मान्यता रहेको छ।

ऋषिकेशबाट दिल्लीतर्फ फर्कने क्रममा हरिद्वारस्थित प्रसिद्ध श्री माँ चण्डी देवी मन्दिर र माँ मन्सा देवी मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो। चण्डी देवीलाई देवी दुर्गाको शक्तिशाली स्वरूपका रूपमा पूजा गरिन्छ भने उनले दैत्यहरूको संहार गरी धर्मको रक्षा गरेको धार्मिक विश्वास छ। त्यस्तै, मन्सा देवीलाई भक्तजनको मनोकामना पूरा गर्ने देवीका रूपमा श्रद्धापूर्वक पुजिन्छ। हरिद्वार पुग्ने लाखौँ श्रद्धालु यी दुवै शक्तिपीठमा दर्शन गर्न जाने परम्परा रहेको छ। तर, भारी वर्षा र बाढीका कारण मन्दिर प्रवेश अस्थायी रूपमा बन्द भएकाले टोलीले दर्शन गर्न पाएन ।

जुलाई १० मा टोली राजस्थानको राजधानी जयपुर पुगेको थियो । दुई दिनको बसाइका क्रममा विश्वप्रसिद्ध एम्बर फोर्ट, सिटी प्यालेस र हावा महलको अवलोकन गरिएको थियो ।

एम्बर फोर्ट राजपूत वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ । पहाडको टुप्पोमा निर्मित यो ऐतिहासिक किल्लाले राजस्थानको वीरता, कला र समृद्ध सांस्कृतिक इतिहासको परिचय गराउँछ ।
सिटी प्यालेस जयपुरका तत्कालीन महाराजाहरूको शाही दरबार हो । राजस्थानी र मुगल वास्तुकलाको सुन्दर सम्मिश्रण रहेको यस दरबारमा ऐतिहासिक संग्रहालय, कलाकृति तथा शाही सम्पदाहरू सुरक्षित राखिएका छन् ।

हावा महल जयपुरको पहिचानका रूपमा परिचित पाँचतले ऐतिहासिक भवन हो । ९५३ वटा झ्याल (झरोखा) रहेको यस महलबाट तत्कालीन राजपरिवारका महिलाहरूले बाहिरका धार्मिक तथा सांस्कृतिक गतिविधि सहजै अवलोकन गर्न सक्थे । यसको अनुपम वास्तुकला र कलात्मक सौन्दर्यले विश्वभरका पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
जयपुर भ्रमणका क्रममा सहभागीहरूले स्थानीय बजारमा किनमेल गरेका थिए । राजस्थानी परम्पराअनुसार रेस्टुरेन्टमा साफा (पगडी) र टीका लगाएर गरिएको स्वागतले सबैलाई विशेष अनुभूति दिलाएको थियो । सहभागीहरूले स्थानीय जयपुरी परिकारको स्वादसमेत रुचिपूर्वक लिएका थिए ।
जयपुर भ्रमण सम्पन्न भएपछि टोली होटल सरोवर पोर्टिकोमा बिदाइ रात्रिभोजमा सहभागी भई मध्यराततिर कोचमार्फत नयाँ दिल्ली प्रस्थान गरेको थियो । बिहान दिल्ली पुगेपछि मुगल सम्राट शाहजहाँले सन् १६३८ तिर निर्माण गराएको ऐतिहासिक दिल्ली गेटको अवलोकन गरिएको थियो । पुरानो दिल्लीको सुरक्षा घेराभित्र रहेको यो भव्य प्रवेशद्वार मुगलकालीन वास्तुकलाको महत्वपूर्ण सम्पदा मानिन्छ र भारतको ऐतिहासिक राजधानीको गौरव झल्काउने प्रमुख स्मारकमध्ये एक हो ।

त्यसपछि टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि प्रस्थान गरेको थियो । दिल्लीदेखि लन्डनसम्मको आरामदायी उडानपछि सबै सदस्यहरू सकुशल हिथ्रो विमानस्थल पुगेका थिए । त्यहाँबाट उनीहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्दै १६ दिने चारधाम तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए ।
यस यात्राले सहभागीहरूलाई धार्मिक आस्था, आध्यात्मिक अनुभूति, प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा तथा भारतीय संस्कृति नजिकबाट बुझ्ने अविस्मरणीय अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन् ।