लन्डन । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘छम्मछम्म नाचौँला’ सार्वजनिक गरिएको छ ।
मौलिक नेपाली संस्कृति तथा माइती र चेलीको आत्मीय सम्बन्ध, तीजको उमंग र सामाजिक यथार्थलाई समेटेर तयार गरिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममार्फत दर्शक तथा श्रोतामाझ सार्वजनिक गरिएको हो । यो गीत गोर्खा इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतका शब्द तथा सङ्गीत बेलायतमा रहेका पत्रकार, गीतकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतको रहेको छ भने स्वर एआई भोकलबाट तयार गरिएको हो । आधुनिक प्रविधि र नेपाली मौलिक संस्कृतिको संयोजन गर्ने उद्देश्यले गीत निर्माण गरिएको गीतकार बस्नेतले बताएका छन्।
‘यसपालिको तीजमा, चेली माइती साथमा, छम्मछम्म नाचौँला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीज पर्वको रमाइलो, माइतीघरको सम्झना, दिदी बहिनीबीचको आत्मीयता, दर खाने परम्परा, व्रत, नृत्य र आधुनिक पुस्ताको जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । गीतमा तीजको सांस्कृतिक पक्षसँगै समसामयिक विषय जस्तै महँगिएको सुनको मूल्य, ‘सेल्फी खिचौँला’ र ‘टिकटक बनाउँला’ जस्ता विषयलाई पनि रोचक ढंगले समेटिएको छ ।
गीतको भिडियोमा विनीता बस्नेतको प्रस्तुति रहेको छ । दर्शक तथा श्रोताहरूको माया पाएमा युट्युब च्यानलबाट हुने आम्दानीलाई नेपालमा आर्थिक सहयोगका लागि प्रयोग गरिने उनले बताएकी छन् । भिडियोको निर्देशन, छायांकन र सम्पादन पशुपति सुनारले गरेका छन् भने कोरियोग्राफी सन्ध्या रसाइलीको रहेको छ । भिडियोमा तीज पर्वको मौलिकपन झल्किने पहिरन, नृत्य र उत्सवमय वातावरणलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।
गीतकार नरेन्द्र बस्नेतले यसअघि पनि पत्रकारिताको पेसागत मूल्य, सत्य र सामाजिक उत्तरदायित्वलाई समेटिएको ‘पत्रकार पत्रकार, हामी पत्रकार’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । त्यस्तै, उनले क्षेत्री समाज बेलायतको आधिकारिक थिम गीत ‘हामी क्षेत्री’ समेत तयार गरी सार्वजनिक गरेका छन् । बस्नेतले सामाजिक संस्था, नेपाली समुदाय र सांस्कृतिक विषयवस्तुलाई समेटेर मौलिक सिर्जना गर्दै आएका छन् ।
आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको ‘छम्मछम्म नाचौंला’ ले नेपालसँगै विश्वभर रहेका नेपाली समुदायबीच तीजको उत्साह थप बढाउने विश्वास गरिएको छ ।