बेलायत । तमु धीं यूकेको आयोजनामा हालै सम्पन्न ‘गोर्खा कप २०२६’ को समीक्षा बैठक तमु धींको आफ्नै भवन मिचेटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रतियोगिताका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरूबारे गहन छलफल गरिएको थियो ।
बैठकको सुरुमा महासचिव डा. विशाल गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै स्वास्थ्य तथा सुरक्षा (हेल्थ एण्ड सेफ्टी) का विषयमा जानकारी गराएका थिए । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष जुमकाजी गुरुङले बैठकको कार्यसूची र उद्देश्यबारे जानकारी गराएका थिए ।
बैठकमा खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावरपोइन्ट र भिडियोमार्फत गोर्खा कपको समीक्षात्मक प्रस्तुति दिएका थिए । जसमा गोर्खा कपका ओआईसी हीरा गुरुङले पनि आफ्ना भनाई राखेका थिए । प्रस्तुतिमा प्रतियोगिताका उपलब्धिहरू, चुनौतीहरू र आगामी दिनमा यसलाई कसरी राष्ट्रियस्तरको खेलकुद महोत्सवका रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।
आर्थिक पारदर्शितालाई ध्यानमा राख्दै कोषाध्यक्ष अरुण गुरुङले प्रतियोगिताको आय–व्ययको विस्तृत विवरण प्रस्तुत गरेका । त्यस्तै, मिडिया सचिव एसके गुरुङले स्टल व्यवस्थापन र लेआउटका बारेमा जानकारी दिएका थिए भने स्टल संयोजक संस्थाकी उपाध्यक्ष दिलमाया गुरुङको तर्फबाट क्याप्टेन देव घलेले आफ्ना भनाइहरू राखेका थिए । भिआईपी र गोर्खा कपमा बारेमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ र सचिव विमल गुरुङले पनि आ–आफ्नो जिम्मेवारीका बारेमा जानकारी गराएका थिए ।
बैठकमा सहभागी विभिन्न क्षेत्रका पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राखेका थिए । जसमा महासचिव डा. विशाल गुरुङ, ह्यामसारका अध्यक्ष नारायण गुरुङ, लण्डन एकाइका अध्यक्ष भरत गुरुङ, साउथ इष्ट रिजनलका अध्यक्ष शिवराम गुरुङ बिईएम, चार भन्ज्याङ तमु समाजका अध्यक्ष दुर्गा गुरुङ, आमा समूहकी महासचिव शान्ता गुरुङ र क्याप्टेन जीवन कुमार गुरुङलगायतले प्रतियोगितालाई अझ परिष्कृत बनाउन सुझाव दिएका थिए ।
सोही अवसरमा हङकङबाट आएका तमु ट्यो ह्युल आमा संयोजक भक्ति गुरुङ र उनका श्रीमान टेकबहादुर गुरुङलाई अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले फेटा, क्रमु र पुष्पगुच्छाले विशेष सम्मान गरेका थिए । साथै स्याङ्जा समाज यूकेकी नवनिर्वाचित अध्यक्ष रुपा गुरुङ र सहारा यूकेकी अध्यक्ष शारदा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
बैठकको अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपलाई सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवक, उपसमिति र सहयोगीहरूलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।



