बेलायत । मगर एसोसिएसन युकेले सन् २०२६ मा 'म्युजिक फर युनिटी' भन्ने नाराका साथ १८औं नेपाली खुला कन्सर्ट आयोजना गर्ने भएको छ।
नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्दै समुदायलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले अल्डरसटस्थित रसमोर एरिनामा आगामी २०२६ जुलाई २५ का दिन यो विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो। सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको यो कन्सर्ट संस्थाको एक महत्वपूर्ण वार्षिक क्यालेण्डरका रूपमा स्थापित छ।
यस पटकको कन्सर्टमा स्थापित तथा उदयमान कलाकारहरूको उत्साहजनक सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा चर्चित 'मन्त्र ब्यान्ड' सहित द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता नीता कुमारी थापा मगर, सिजन ३ का सेमिफाइनलिस्ट गोविन पुन र सिजन ७ की दोस्रो रनरअप पुनम गुरुङले आफ्नो प्रस्तुती दिनेछन् ।
त्यसैगरी सबिना बुढा, रुश्मा (रुपी) सिन्जाली, सम्झना भण्डारी तथा आठौं मगर गट ट्यालेन्टका विजेताहरू एलिसा पुन र प्रतिमा पुनले प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ । यो कार्यक्रमले नेपाली मौलिक र आधुनिक संगीतको फ्युजनमार्फत दर्शकलाई फरक सांगीतिक स्वाद दिने लक्ष्य राखेको मगर एसोसिएसन युकेका उपाध्यक्ष तथा कार्यक्रम प्रमुख संयोजक गुमानसिंह थापाले बताए ।
बेलायतमा दर्ता भएको परोपकारी संस्था मगर एसाेसिएसन युकेले विशेषगरी मगर र समग्र नेपाली संस्कृतिको संरक्षणका लागि काम गर्दै आएको छ। यस कन्सर्टमार्फत बेलायतमा रहेका नेपालीहरूका बीचमा भाइचारा बढाउन र स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रमले प्रवासमा नेपाली पहिचानलाई अझ मजबुत बनाउने र नयाँ पुस्तालाई आफ्नो संस्कारसँग जोड्ने माध्यम बन्ने आयोजकले बताए।
रसमोर एरिनामा आयोजना हुने यस कार्यक्रमका लागि रेल र बसको सहज पहुँच रहेको छ। आयोजकका अनुसार कार्यक्रम स्थलमा बालबालिकाहरू अनिवार्य रूपमा अभिभावकको साथमा हुनुपर्नेछ भने घरपालुवा जनावरहरूलाई प्रवेश निषेध गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि संस्थाका प्रमुख संयोजक तथा उपाध्यक्ष गुमान सिंह थापाले समन्वय गरिरहेका छन्।