लन्डन । विगतका वर्षहरुझैं गत २७ अगस्ट २०२२ शनिबार तमु समाज यूके आमा समूहको आयोजनामा लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज यूके नेप्लीज कम्युनिटी सेन्टरमा लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष उमादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि जेष्ठ नागरिक श्रीमती चन्द्रकुमारी गुरुङ, आमा समूहकी अध्यक्ष पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज यूकेका प्रथम महिला मिना गुरुङ गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । आमा समूहकी सचिव मिरा गुरुङले सञ्चालन गरेको लेडिज नाइट तथा तीज कार्यक्रममा तमु समाज यूकेका आमा दिदीबहिनीहरु एवं लन्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा विशिष्ट अतिथि तमु धिं यूकेका आमा समूहकी अध्यक्ष तथा प्रथम महिला सिता गुरुङ (मन्जु) लगायत तमु धिं यूकेबाट उपस्थित अन्य अतिथिहरु कमला गुरुङ, सन्ध्या गुरुङ, समी गुरुङ, तमु प्ये ल्हु संघ यूके आमा समूहका अध्यक्ष विष्णु गुरुङ, तमु समाज यूकेका प्रथम महिला मिना गुरुङ, सोपाल समाजका संस्थापक उपाध्यक्ष पार्वती गुरुङ, क्वोंने (घोण्डे/घोताने) समाज यूके चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, लन्डन फेसन हाउसका प्रबन्ध निर्देशक मनिषा डंगोल, आसा फेसन हाउसका प्रबन्ध निर्देशक आसा भुसाल, अश्मी ज्वलर्सका प्रोपाईटर रन्जु श्रेष्ठ र तमु समाज यूकेका जेष्ठ नागरिक आमाहरु उपस्थित थिए ।
तीजको औपचारिक कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे सचिव मिरा गुरुङले जानकारी गराएकी थिइन् । त्यसैगरी आमा समूहकी उपाध्यक्ष मथुरादेवी गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष उमादेवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा आमा समूहकी सचिव मिरा गरुङले लेडिज नाइट तथा तीज कार्यक्रमलाई विभिन्न किसिमका भौतिक सहयोग र आर्थिक प्रायोजन गर्ने दाताहरुको नामावली वाचन गर्दै सबै सहयोगी दाताहरुप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।
यस वर्षको तीज कार्यक्रममा मनोरन्जनको निम्ति राखिएको राफल ड्र को पहिलो पुरस्कारस्वरुप सुनको चन्द्रमा लन्डन साउथ हेरोस्थित जय श्री कृष्ण ज्वलर्स यूकेका प्रोपाईटर लक्ष्मी गौतमले प्रायोजन गरेकी थिइन् । राफल ड्र को अन्य पुरस्कारहरु आमा समूहका दिदीबहिनीहरुले प्रायोजन गरेका थिए ।
यसैगरी नृत्यतर्फ उत्कृष्ट नृत्यङ्गना पुरस्कार आमा समूहका अध्यक्ष उमादेवी गुरुङले प्रायोजन गरेकी थिइन् भने अन्य पुरस्कारहरु आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकार इच्छाकुमारी गुरुङ, तमु समाज यूकेका पूर्वउपाध्यक्ष रेनुमाया गुरुङ र आमा समूहका उपाध्यक्ष मथुरा गुरुङले प्रायोजन गरेका थिए।
नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यङ्गनाको उपाधि ज्ञानु घलेले जितिन् भने दोस्रो स्थान बविता श्रेष्ठ र तेस्रो स्थान तिलु घलेले ओगटिन् । यस वर्षको राफल ड्र को आकर्षक प्रथम पुरस्कार सुनको चन्द्रमा सौरभीले जितेकी थिइन् ।
तीज कार्यक्रमको हल सजावटमा आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ, सचिव मिरा गुरुङ र प्रथम महिला मिना गुरुङलगायत संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य पुरुष सदस्यहरुले सहयोग गरेका थिए ।
यसैगरी खानपिनको व्यवस्थापन समाजका खाद्य संयोजक हरिमान गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ र सल्लाहकार ज्ञान गुरुङले गरेका थिए । कार्यक्रममा प्रवेश शुल्क संकलन कार्य निर्वतमान अध्यक्ष शिवचन्द्र गुरुङ र सल्लाहकार उदय गुरुङले गरेका थिए ।
तीज कार्यक्रममा अल्डरसट गोर्खा किचेनका प्रोपाईटर भिम गुरुङले खानाको बन्दोबस्त र आमा समूहका आमा दिदीबहिनीहरुले उपस्थित सबैलाई सेलरोटी उपलब्ध गराएका थिए । तमु समाज यूके युवा समूहका अध्यक्ष तथा फोटोग्राफर ओमकार गुरुङले फोटोग्राफी गरेका थिए ।
दिउँसो २:१५ बजे आरम्भ भएको कार्यक्रममा सहभागी दिदीबहिनीले स्वादिष्ट खानासहित प्रज्वल गुरुङको तीज डिजेमा बेलुका १० बजेसम्म नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।