बेलायत। नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय कलाकारद्वय निरा थापा मगर र मनसुधन थापा मगर को नयाँ कौरा गीत “आकाशैको झिलीमिली तारा” को छायांकन गत आइतबार बेलायतमा सम्पन्न भएको छ।
विशेषगरी तनहुँ जिल्लामा अत्यन्त लोकप्रिय रहेको कौरा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेलायतमा बसोबास गर्ने तनहुँबासी, मगर तथा गुरुङ समुदायका व्यक्तिहरूको पहल, सहयोग र सक्रिय सहभागितामा गीतको छायांकन गरिएको हो। गीतमा निरा थापा मगर र मनसुधन थापा मगर को स्वर रहेको छ भने लय तथा शब्द मनसुधन थापा मगरकै रहेको छ।
संगीत संयोजन (Music Arrangement) सागर बिरहीले गरेका छन्। गीतमा खैजडी वादन पदम थापा मगर र साथीहरूको रहेको छ। यस गीतको भिडियो निर्देशन तथा छायांकन कुशल श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी सविता राना (नाना) ले गरेकी छन्। गीतको रेकर्डिङ 1DB Studio Nepal तथा Madan Studio London मा सम्पन्न गरिएको हो।
बेलायतका मनमोहक प्राकृतिक तथा सांस्कृतिक दृश्यहरू समेटिएको उक्त म्युजिक भिडियो छिट्टै Nira Thapa YouTube Channel मार्फत सार्वजनिक गरिने कलाकारहरूले जानकारी दिएका छन्।
छायांकनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा संगीतप्रेमीहरूप्रति कलाकारद्वयले हार्दिक आभार व्यक्त गरेका छन्। साथै विशेष सहयोग पुर्याउने अनिता राना, वीर बलाल, रुक आले, मिन राना, बल थापा , ऋषि राना तथा नानु राना, तनहुँ समाज मगर सङ्घ युके UHSB branch लगायत सम्पूर्ण सहयोगीहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
कलाकार निरा थापा मगरले दर्शक तथा संगीतप्रेमीहरूलाई केही समय प्रतीक्षा गरी गीत सार्वजनिक भएपछि माया, साथ र समर्थन प्रदान गर्न आग्रह गरेकी छन्। “आकाशैको झिलीमिली तारा” गीतले नेपाली मौलिक कौरा संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ थप चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



