बेलायत । तमु धीं यूकेको आयोजनामा आज आइतबार बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा २४औँ संस्करणको ‘गोर्खा कप २०२६’ भव्य रूपमा सञ्चालन हुँदैछ।
यस वर्षको गोर्खा कपमा कुल ५६ फुटबल टोलीले सहभागिता जनाउँदैछन् । जसमा मुख्य विधातर्फ ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिम रहेका छन् । खेल मैदान परिसरमा जम्मा १२६ वटा विभिन्न स्टलहरू रहनेछन् ।
यसवर्ष मुख्य विधातर्फको विजेताले ३ हजार ५०० पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद सचिव क्याप्टेन दीपक घलेले बताए । त्यसैगरी, सो विधाको उपविजेताले २ हजार पाउण्ड पाउनेछन्। भेट्रानतर्फको प्रथम हुने टोलीलाई १ हजार ८०० पाउण्ड र दोस्रो हुनेलाई १ हजार २०० पाउण्ड पुरस्कार प्रदान गरिनेछ। महिला विधातर्फ भने विजेताले ६०० पाउण्ड र उपविजेताले ४०० पाउण्ड पाउने उनले बताए। विगतका वर्षहरूमा झैँ यस पटक पनि ‘लिजेन्ड्स अफ द गोर्खा कप’ को विशेष उपाधि प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ । आम्दानीका स्रोतहरूबारे जानकारी दिँदै घलेले दर्शक प्रवेश शुल्क ३ पाउण्ड तथा सवारी साधनतर्फ बसका लागि १५ र कारका लागि ५ पाउण्ड शुल्क तोकिएको बताए ।
आयोजक संस्था तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले खेल मैदान, भिआइपी टेन्ट र बालबालिकाका लागि फन फेयरको व्यवस्थापनलगायत सबै व्यवस्थापन सकेर उद्घाटनको लागि तयारी गरिरहेको बताए ।
झण्डै २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलालाई थप रोचक बनाउन खाना, च्यारिटी, लत्ताकपडा र अन्य सामग्रीका १२६ वटा स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ। अध्यक्ष गुरुङले गोर्खा कप सबै नेपाली समुदायको साझा गौरव भएकाले सहभागी भएर रमाइलो गर्न सबैमा आग्रह गरेका छन् ।


