पोखरा । दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन् । शनिबार पोखरामा भएको फाइनलमा थापा विजयी भएकी हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले प्रतियोगिता आयोजनामा गरेको हो । उपाधिसँगै थापाले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् ।
उनले आफ्नै गीत नि:शुल्क रेकर्डिङ गर्ने अवसरसमेत पाएकी छन् । अन्तिम प्रतिस्पर्धामा विभिन्न जिल्लाको अडिसनबाट छनौट भएका प्रतियोगीहरू सहभागी भएका थिए ।
कास्कीका समिर पुन, पर्वतका शोभा परियार,बागलुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाकी बत्तीकुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङले अन्तिम प्रतिस्पर्धामा पुगेका थिए ।
निर्णायक मण्डलमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं लोकदोहोरी गायिका रीता थापा मगर, वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारी र लोकदोहोरी गायकद्वय राजु परियार र पशुपति शर्मा रहेका थिए ।