पोखरा । माननीय बिना गुरुङ र माननीय उत्तमप्रसाद पौडेललाई बधाई, सम्मान र उनीहरुसँग अन्तरक्रिया कार्यक्रम तमु धिं नेपालले सम्पन्न गर्यो।
कार्यक्रममा तमु धिं नेपालकी केन्द्रीय सदस्य समेत रहेकी कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय बिना गुरुङ र कास्की क्षेत्र नं २ बाट निर्वाचित माननीय उत्तमप्रसाद पौडेललाई तमु धिं नेपाल, तमु प्ये ल्हु संघ, तमु धिं कास्की, केन्द्रीय आमा समिति, युवा समिति, तमु कलाकार संघ गण्डकी, लाम्छाने समाज, गुरुङ गहना घर र क्षेत्रीय तमु समाजहरुको तर्फबाट बधाई सम्मान गरियो ।
माननीय गुरुङ र माननीय पौडेलले सुशासन, नागरिकको हित र मुलुकको विकासका लागि इमान्दारपूर्वक काम गर्नेमा जोड दिए। तमु धिं नेपाल लगायत समुदायको विकासमा आफूहरुबाट सक्दो पहल हुने प्रतिबद्धता उनीहरुले जनाए। आफूहरुलाई अत्यधिक मतका साथ निर्वाचित गराएकोमा धन्यवाद दिँदै सधैं नागरिकको सुख(दुःखमा साथै रहने र सबैबाट साथ, सहयोग तथा सुझावको अपेक्षा गरे ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष ओम बहादुर गुरुङ, तमु धिं केन्द्रीय सदस्य कृष्णकुमार गुरुङ, जिल्ला सदस्य कृष्ण कुमारी गुरुङ, जिल्ला सल्लाहकार चम्पासिंह गुरुङ, सोंपाल तमु समाज अध्यक्ष दीपक गुरुङ, तमु धिं नेपाल पूर्व सदस्य प्रेम गुरुङ लगायतले तमु, आदिवासी जनजाति, महिला, निम्न वर्ग लगायतको अधिकार, सुकुम्वासी समस्या, डुबान, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, शैक्षिक, सामाजिक, सांस्कृतिक विभेद र विकास निर्माण लगायत विविध पक्षमा सुझाव तथा जिज्ञासा राखे।
तमु धिं नेपालले माननीयद्वयलाई आगामी बजेटमा समावेश गर्नका लागि योजना बुझायो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले कार्यक्रम संचालन गरेकी थिइन्। कार्यक्रममा युवा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।



