पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीले क्व्होंलासोथर अध्ययन अवलोकनका लागि यूकेबाट नेपाल आएको तमु प्ये ल्हु संघ यूकेको टोलीलाई एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ ।
संघको आफ्नै कार्यालयमा आयोजित उक्त कार्यक्रममा भ्रमण टोलीका सदस्यहरूलाई टिका, फेटा र माला दिएर न्यानो आतिथ्यता प्रदान गरेको थियो ।
संघका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव नेत्र गुरुङले गरेका थिए । कार्यक्रमको सुरुवात संस्थाकी उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्दै कलाकार र सामाजिक संस्थाहरूबीचको सहकार्यले तमु संस्कृति संरक्षणमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
सो अवसरमा गायक धनबहादुर गुरुङ एकल साँझमा आर्थिक सहयोग तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र उनकी धर्मपत्नी एवं आमा समूहकी अध्यक्ष बबिता गुरुङलाई संस्थाको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरी विशेष सम्मान गरिएको थियो । उनीहरुले उक्त एकल साँझमा ५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।





त्यसैगरी, तमु प्ये ल्हु संघ यूकेका मुख्य सल्लाहकार तथा पूर्व अध्यक्ष जगत प्हच्युाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । उनले गायक धनबहादुर गुरुङ एकल साँझमा २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए । सहयोगीदाताहरूलाई सम्मान गर्दै संस्थाले उनीहरूको योगदानको उच्च कदर गरेको थियो ।
कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार जगत प्हच्यु, उपाध्यक्ष अमर गुरुङ, महासचिव भेगलाल गुरुङपूर्व अध्यक्ष तथा सल्लाहकार सोम गुरुङ, महिला संघ यूके आमा समूह अध्यक्ष बबिता गुरुङ, कार्यसमिति सदस्य बुद्धि गुरुङ, आमा समूह महासचिव लक्ष्मी गुरुङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलत तमुलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूबीच परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले कलाकार र बेलायतमा रहेका तमु अभियन्ताहरूबीच सम्बन्ध थप प्रगाढ बनाएको सहभागीहरूले बताए थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष विक्रम गुरुङले भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गरेका । उनले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र सामाजिक कार्यमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सद्भाव कायम रहने विश्वास व्यक्त गरे ।