नेपाल । डा. कपिल रिजालको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गते (जुलाई १७) देखि देशभरका हलहरूमा प्रदर्शन हुने भएको छ।
भोला रिजाल प्रोडक्सन प्रा.लि. र सुमन गिरी प्रोडक्सन प्रा.लि.को संयुक्त प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कथा डा. भोला रिजालले लेखेका हुन्। फिल्ममा सुमन गिरी र डा. कपिल रिजालले लगानी गरेका छन् भने सरला रिजाल यसको कार्यकारी निर्माता हुन्।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेका छन्। यसका साथै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सितादेवी तिमल्सिना, लक्ष्मीनाथ तिमल्सिना र राजेन्द्र नेपाली लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। बाल कलाकारका रूपमा अञ्शु ओली र प्रिन्स नेपालीले पनि अभिनय गरेका छन्। डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरराज घिमिरेले यसको पटकथा तथा संवाद तयार पारेको निर्माण पक्षले बताएको छ ।
इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता रहेको यस चलचित्रमा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको ‘गौँथली’ मा मनोज श्रेष्ठको भिएफएक्स र राजेन्द्र मोकानको रङ संयोजन रहेको छ। आगामी साउनबाट प्रदर्शनमा आउने यो फिल्मले पारिवारिक र सामाजिक कथावस्तु समेटेको वितरण पक्षले बताएको छ ।