बेलायत । नेपाल पत्रकार महासंघ यूके शाखाले आफ्नो १५औं स्थापना दिवसलाई विशेष उत्सवका रूपमा मनाउने तयारी थालेको छ।
अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले आगामी १० जुलाई २०२६ का दिन अल्डरसटस्थित एम्पायर हलमा वार्षिकोत्सव आयोजना गर्ने निर्णय गरेको हो। महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको उक्त बैठकले कार्यक्रमलाई व्यवस्थित बनाउन वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको संयोजकत्वमा आयोजक समिति निर्माण गरेको छ, जसमा उपाध्यक्ष प्रमिला लाबुङ राई सहसंयोजक तथा गोमा राना, नगेन्द्र नेम्वाङ र विश्वासदीप तिगेला सदस्य रहेका छन्।
बैठकले प्रचार–प्रसारको जिम्मेवारी महासचिव रानाभाटलाई सुम्पेको छ भने यस समितिमा शिव भण्डारी, विश्वासदीप तिगेला, वाचस्पति रेग्मी र मिलन तमु रहेका छन्। त्यस्तै, गोमा रानाको नेतृत्वमा मञ्जु भण्डारी खरेल, प्रमिला लाबुङ राई र बम थापा सूर्यवंशी सम्मिलित स्वागत तथा हल व्यवस्थापन समिति गठन गरिएको छ। आर्थिक संकलनका लागि कोषाध्यक्ष एस. के. गुरुङको संयोजकत्वमा सुरेन्द्र इङ्नाम, गोमा राना, नगेन्द्र नेम्वाङ्ग र बम थापा सूर्यवंशीलाई तोकिएको छ। महासंघले हरेक वर्ष प्रदान गर्ने ‘वर्ष पत्रकारिता सम्मान’ का लागि योग्य व्यक्ति छान्न खगेन्द्र नेपाली, नवीन पोखरेल, नरेश खपाङ्गी मगर, ध्रुवराज आर्याल र विमला सेने सदस्य रहेको एउटा सिफारिस समिति समेत बनाइएको छ।
पत्रकारिताको स्तरवृद्धिका लागि महासंघले विभिन्न तालिम र अन्तरक्रिया समेत गर्ने भएको छ। आगामी ६ जुन २०२६ मा वेल्सको कुम्ब्रानमा स्थानीय संस्थाहरूसँगको सहकार्यमा न्यूज रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गरिनेछ भने ३ मे २०२६ मा विश्व प्रेस स्वतन्त्रता दिवस पारेर वर्तमान पत्रकारिताका चुनौतीबारे भर्चुअल प्रशिक्षण दिइनेछ। यसका साथै आगामी २६ र २७ जुलाई २०२६ मा जापानको नारितामा आयोजना हुने वैदेशिक शाखाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा यूके शाखाले प्रभावकारी भूमिका खेल्दै केन्द्रसँगको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ। संस्थापक अध्यक्ष नवीन पोखरेलसहित पदाधिकारीहरूको उपस्थिति रहेको सो बैठकले तय गरेका योजनाहरू कार्यान्वयनमा लैजाने महासचिव रानाभाटले बताए।