पोखरा । क्होला सोँप्रे ट्हो (क्व्होलासोँथर) पुगेर फर्केको तमु प्ये ल्हु संघ, यूकेको टोलीलाई तमु प्ये ल्हु संघ केन्द्रीय समितिको भब्य स्वागत गरेको छ ।
आइतबार तमु प्ये ल्हु संघको केन्द्रीय कार्यालयबाट अध्ययन अवलोकनका लागि क्व्होलासोंथर गएको टोली शुक्रबार ६ दिनपछि पोखरा फर्केको हो । शुक्रबार साँझ तमु प्ये ल्हु संघको केन्द्रीय समितिले एक कार्यक्रम आयोजना गरी यूकेको टोलीलाई भब्य स्वागत गरेको हो । कार्यक्रममा केन्द्रीय आमा समिति, गोर्खा जिल्ला समितिलगायत इकाई र जिल्ला समितिहरुले माला, क्रेगी र फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका महासचिव हिमाल गुरुङले सञ्चालन गरेका थिए । उक्त अवसरमा टोलीलाई स्मारिका प्रदान गरिएको थियो ।
सम्मानपछिको कार्यक्रम सञ्चालन तमु प्ये ल्हु संघ, यूकेका सचिव भेगलाल गुरुङले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नाम्चु च्यिउली युन्ला क्वोईंबो, सार्दिखोला क्वोईंबो, स्याउली बजार क्वोईंबो, पैयूँ खोला संस्कृति समाज भवन, रोल्पा क्वोईंबो, बस्यानी पुलुन डाँडा क्वोईंबो, रजहर क्वोईंबो, लक्ष्मी बजार क्वोईंबो, सिमी कु, रिमी ङी, सिम्ले देउराली क्वोईंबो, बारपाक क्वोईंबो, बुट्टाबारी क्वोईंबो, युम्पो क्वोईंबो, र पिद्राहानी क्वोईंबोलाई समान २ लाख ७ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
कार्यक्रममा डा. पोलबहादुर गुरुङले स्लाइड सो मार्फत भ्रमणका बारेमा केके गर्नुपर्छ, केके हुदैंछ भन्ने बारेमा जानकारी गराएका थिए । अब के हुनुपर्ने भन्ने विषयमा पनि जानकारी गराएका थिए । डा. पोलबहादुरले आफ्नो स्लाइड सो मार्फत क्होला सम्पदा क्षेत्र निर्धारण गर्नुपर्ने, भग्नावशेषहरुको आधिकारिक नामाकरण गरिनुपर्ने, नेपाल सरकार (केन्द्र, प्रदेश र स्थानीय) तहको पहुँच पुग्नुपर्ने र अहिलेसम्मका अध्ययन अनुसन्धान र भ्रमणहरुको दस्तावेजहरु संकलन गरी भावी योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङले भ्रमणका बारेमा संक्षिप्त जानकारी दिदैं धन्यवाद् ज्ञापन गरेका थिए ।






