पोखरा । तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित झापुटारमा आयोजित दोस्रो राष्ट्रिय कौराहा सम्मेलन 'कौराह घोषणापत्र' जारी गर्दै सफलताका साथ सम्पन्न भएको छ। मगर समुदायको पहिचानसँग जोडिएको मौलिक कौरा नृत्यको संरक्षण, संवर्द्धन र दस्तावेजीकरण गर्ने मुख्य उद्देश्यका साथ वैशाख ४ र ५ गते दुई दिनसम्म यो सम्मेलन सञ्चालन गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ तनहुँको सह-आयोजनामा भएको यस कार्यक्रमले कार्यदल विज्ञ समितिमार्फत आधिकारिक घोषणापत्र सार्वजनिक गरेको छ। यमबहादुर आलेको संयोजकत्वमा गठित विज्ञ समितिले सम्मेलनमा सहभागी २७ वटा समूहका प्रतिनिधिहरूसँग छलफल गरी कौराको ऐतिहासिकता र वर्तमान अवस्थाबारे दस्तावेजीकरण गरेको जानकारी संघका केन्द्रीय अध्यक्ष नन्दु मगरले दिए ।
यस पटकको सम्मेलनमा औपचारिक भाषण र पट्यारलाग्दा कार्यक्रमभन्दा भिन्न शैली अपनाइएको थियो । कार्यक्रमको सुरुवात नै सहभागी युवायुवतीहरूले सामूहिक रूपमा कौरा नाच प्रस्तुत गरेर गरेका थिए, जसका कारण झापुटारको वातावरण निकै उत्साहपूर्ण बनेको देखिन्थ्यो । देशका विभिन्न जिल्लाबाट आएका २७ टोलीका कलाकारहरूले खैँजडीको तालमा मौलिक गीत गाउँदै आफ्ना प्रस्तुतिहरू दिएका थिए । विशेषगरी परम्परागत मगर पहिरनमा सजिएका युवतीहरूको सामूहिक नृत्यले दर्शकलाई निकै आकर्षित गरेको थियो ।
कार्यक्रम संयोजक पदमबहादुर थापाले समयको परिवर्तनसँगै पुराना मौलिक संस्कृतिहरू हराउँदै जान थालेकाले कौराको संरक्षण र नयाँ पुस्तालाई यसबारे सिकाउनु आवश्यक रहेको बताए । कौरा नृत्यको मौलिकता जोगाउने, मगर समुदायको सांस्कृतिक पहिचानलाई विश्वस्तरमा पुर्याउने र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनको भनाइ छ । यस्तै, नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले ऋषिङ क्षेत्र कौराको उद्गम थलो भएकाले यहाँ यस्तो कार्यक्रम हुनु गौरवको कुरा भएको उल्लेख गरे । उनले कौरा मगर जातिको सभ्यतासँग जोडिएको सम्पदा भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको बताए ।
जानकारहरूका अनुसार कौरा विशेषगरी ‘६ क’ को अवधारणामा आधारित छ। जसमा कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने र कसरी बजाउने भन्ने जस्ता आधारभूत पक्षहरूलाई समेटेर यसको मौलिकता परिभाषित गर्ने गरिएको छ ।