भक्तपुर । नयाँ वर्षको उत्साहसँगै भक्तपुरको सल्लाघारीमा यसपटक सांगीतिक माहोल असाधारण बन्ने भएको छ । वैशाख ५ गते साँझ आयोजना हुन लागेको ‘भक्तपुर वाइल्ड फायर नाइट’ ले दर्शकलाई एकै रातमा ऊर्जा, भावना र मनोरञ्जनको पूर्ण स्वाद दिने तयारी गरेको छ ।
भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको विशेष कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कन्सर्टमा पहिलो पटक चर्चित गायक दुर्गेश थापा र लोकप्रिय स्वरका धनी प्रमोद खरेल एउटै मञ्चमा देखिन लागेका छन् । आयोजकका अनुसार यी दुई फरक शैलीका कलाकारको प्रस्तुति एउटै स्टेजमा हुनु नै कन्सर्टको सबैभन्दा ठूलो आकर्षण बनेको छ ।
दर्शकले दुर्गेश थापाका ‘दुस्मन हेरेको हेरै...’ लगायत चर्चित प्रस्तुति हेर्न पाउनेछन् भने प्रमोद खरेलले आफ्नो सुमधुर आवाजमा ‘झ्यालबाट हेर...’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । खरेलसँगै आउने ‘परम्परा ब्यान्ड’को लाइभ प्रस्तुतिले कन्सर्टलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतका अनुसार यस पटकको कन्सर्ट केवल मनोरञ्जनमा सीमित नरही दर्शकका लागि अविस्मरणीय अनुभव बन्ने लक्ष्य राखिएको छ । उनका अनुसार दुर्गेश र प्रमोद खरेल पहिलो पटक एउटै मञ्चमा देखिनु भक्तपुरवासीका लागि विशेष अवसर हो ।
कन्सर्ट हेर्न चाहने दर्शकले २५० र ५०० रुपैयाँका टिकट खल्ती लगायतका डिजिटल माध्यमबाट लिन सक्ने व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको महोत्सवमा ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
उता, १२ वर्षदेखि सञ्चालन हुँदै आएको भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आफैमा पनि ठूलो आकर्षण बनेको छ । मेलामा हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् भने दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिइसकेका छन् । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर सुरु गरिएको यो मेला वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता तथा हस्तकलाका सामग्रीहरू १५ देखि ५० प्रतिशतसम्म छुटमा उपलब्ध छन् । साथै बालबालिकाका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स जस्ता खेलहरू पनि आकर्षणका रूपमा रहेका छन् ।