पोखरा । २०८३ बैशाख ६ गते तदानुसार १९ अप्रिल २०२६, आईतबारदेखि ऐतिहासिक, धार्मिक तथा पैतृक थलोको रुपमा महिमा बोकेको क्होला सोँप्रे ट्होको अध्ययन तथा अवलोकनको लागि तमु प्ये ल्हु संघ युकेको संयोजकत्वमा एउटा टोली क्होला सोँप्रे ट्हो जाने भएको छ ।
२०८३ बैशाख ११ गतेसम्म तदानुसार २०२६ अप्रिल २४ तारिखसम्म हुने उक्त भ्रमणलाई अध्यक्ष क्या. डेम बहादुर योज तमुले नेतृत्व गर्ने छ भने द्धितिय उपाध्यक्ष अमर त्होर्जे व्यवस्थापन तयारीमा जुटिरहेको छ ।
भ्रमण सफलता र सहभागीहरुको रक्षाको लागि बैशाख ५ गते शनिबार बिहानैदेखि साईतको छ्योप पूजा समेत गरिने भएको छ । केन्द्रीय समिति र कास्की जिल्ला समितिको व्यवस्थापन सहयोगमा हुने यस पूजा कार्यक्रममा भ्रमणमा सहभागी हुने सबैजना उपस्थिति रहनेछ भने पूजा समापन पश्चात केन्द्रीय समितिसँग विविध बिषयहरुमा छलफल गर्नेगरि बैठक समेत बस्ने छ ।
तमु प्ये ल्हु संघ युकेका पदाधिकारीहरु, खेगीगुरुहरु, मिडियाकर्मी र सहयोगीहरु सहित गरी करिव ५०–५५ जनाको सहभागीता रहने उक्त भ्रमण टोली आईतबार बिहान फ.लि.ना. क्होँईवों, रानिपौवा पोखराबाट भुजुङ प्रस्थान गर्नेछ भने भुजुङदेखि सहयोगीहरु सहित क्होला सोँप्रे ट्हो तर्फ लाग्नेछ । यसक्रममा टोलीले लमजुङ, बेशिशहर, घलेगाउँ र भुजुङमा निर्मित क्होँईवोँको अवलोकन समेत गर्नेछ । त्यसपछि होजोँ हुँदै ङ्हसिखोँमा बास बस्नेगरि टोलीले मार्ग तय गर्नेछ भने क्रचे, सच, म्रुधिँ, नायु लैफ्रोँ र जोसोगरा हुँदै क्होला सोँप्रे ट्हो पुग्नेछ ।
क्होला सोँप्रे ट्हो पुगेर टोलीले त्यहाँ छ्योप पूजा र थासोँ पूजा गर्नेछ भने दिनभरी स्थलगत अध्ययन तथा अवलोकन गर्नेछ । त्यसपछि टोली सिक्लेस गाउँको यात्रामा निस्कनेछन् भने सिक्लेस गाउँ र त्यहाँ निर्माण भएका तीनवटा क्होँईवोँहरुको अवलोकन तथा भेटघाट गरेर पुनः फ.लि.ना. क्होँईवोँ पोखरा फर्किनेछ ।
फ.लि.ना. क्होँईवोँ, रानिपौवा पोखरा आईपुगेपछि भ्रमणको समापन एक विशेष समारोहबीच हुनेछ । जहाँ तमु प्ये ल्हु संघ युकेले सिक्लेस, सर्दिखोला, स्याउली बजार तनहुँ, रोल्पा, बस्यानी स्याङजा, रजहर नवलपुर, लक्ष्मी बजार गोरखा, बारपक गोरखा, पेल्काचौर सिम्ले स्याङजा, बुट्टाबारी झापा, भुजुङ लमजुङ र खैरहनी चितवनमा निर्माण भएका तथा निर्माणधिन क्होँईवोहरु र पैयुँखोला तमु समाज काठमाण्डौको भवन निर्माण सहयोगको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गर्नेछ । त्यसैगरि कार्यक्रमलाई थप रोचक, रंगीन र स्मरणीय बनाउनको लागि तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ भने केन्द्रीय समिति र कास्की जिल्ला समितिले व्यवस्थापन सहयोग गर्नेछ ।
यो भ्रमणलाई सम्पन्न बनाउनको लागि तमु प्ये ल्हु संघ केन्द्रीय समिति, केन्द्रीय खेगी समिति, केन्द्रीय महिला समिति, केन्द्रीय युवा समिति, कास्की जिल्ला समिति, कास्की जिल्ला महिला समिति, लमजुङ जिल्ला समिति, बेशिशहर, भुजुङ गाउँवासी र सिक्लेस गाउँवासीको भूमिका रहनेछ । तमु प्ये ल्हु संघ युकेको भ्रमण अवधारणा वमोजिम जोडिने यहाँहरु सबैलाई टोली प्रमुख क्या. डेम बहादुर योज तमुले आवश्यक र सक्दो सबै सहयोग गरी भ्रमण सफल बनाई दिन विशेष निवेदन गरेका छन् ।