पोखरा । तमु समुदायको ऐतिहासिक, मौलिक सांस्कृतिक ट्होटें पर्व तमु धीं नेपालको आयोजनामा चैतको अन्तिम मंगलबार मनाएको छ ।
उघौली ट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृति र पितृलाई पुज्दै मौलिक पोसाक, बाजागाजा, झाँकीसहित सुरु भएको बृहत् ट्होटें र्याली नागढुंगा, लखन चोक पृथ्वीचोक, नयाँबजार हुँदै तमु धींमा पुगी समारोहमा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले उद्घाटन गर्दै सुशासनका लागि तमुहरूले स्थापित गरेको ऐतिहासिक सांस्कृतिक पर्वले नेपाल सुशासनको मुलुक बन्ने शुभकामना दिए । जेनजी आन्दोलनपश्चात् निर्वाचित सरकारको गृहमन्त्री सुदन पनि गुरुङ नै भएकाले मुलुकलाई सुशासनका साथ समृद्धितर्फ लम्काउन सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।
विगतमा गुरुङहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै तमुको अधिकारका लागि सधैँ अग्रमोर्चामा रहने प्रतिबद्धता व्यक्त गरे । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्दै ट्होटेंको ऐतिहासिकता, पर्वको मर्मलाई आत्मसात् गर्दै जानुपर्नेमा जोड दिए ।

ट्होटें पर्वमा आयोजित झाँकी एवं र्याली प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम ४० हजार, याङ्जाकोट तमु समाज द्वितीय हुँदै २५ हजार, फुलबारी तेस्रो हुँदै १५ हजारसहित ट्रफीबाट पुरस्कृत भएको थियो । यसरी नै ब्रेज मेश्रों घान्द्रुक तमु समाज चौथो हुँदै १० हजार, सान्त्वना भएको तनहुँ तमु समाज, सूर्यमुखी, भुजुङ युम्पो र डढुवा दुर्छा तमु समाज तृतीय हुँदै जनही पाँच हजारसहित पुरस्कृत भएका थिए ।
झाँकी र्याली मुल्यांकन समिति तमु धीं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा रहेको मूल्यांकन समितिको निर्णय समितिका सदस्य श्रीजंङ गुरुङले घोषणा गरे ।
पुरस्कृत समाजहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सल्लाहकार मेजर डिलबहादुर गुरुङ, सरंक्षक परिषद् सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, लगायत प्रथम पुरस्कार प्रायोजक गुरुङ गहनाघर प्राली सिमा गुरुङ नेल्सन गुरुङ, पुरस्कार प्रायोजकहरू चित्रकुमारी गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ लगायतले पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा खानेपानीको प्रायोजन नातिनी सदिमा गुरुङको स्मृतिमा नागवेली तमु समाजको पूर्वअध्यक्ष क्याप्टेन हितमान गुरुङले गरेका थिए । चिउली पाचे तमु समाज र तमु धींका नवयुवा सांस्कृतिक कलाकारहरूबाट नृत्य प्रस्तुति गरेका थिए ।
तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जुना गुरुङले गरेकी थिइन् ।