काठमाडौँ । नेपालमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेतालगायत नवनिर्वाचित सांसद सहभागी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसद छन् ।
बैठकमा तीन अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्नेछन् ।