काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै उनीहरूलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मन्त्रिपरिषद्को निर्णय र कागजातसहित राति नै शुक्रबार राति नै निवासबाटै उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँको नयाँ बानेश्वरमा भदौ २३ गते भएको गोलीकान्डमा ओली र लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोलीले दोषी ठहर गरेको हो ।
शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको सरकारले तत्कालै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ ।
ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन् ।‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले फेसबुकमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’
उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन् ।