पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग भई प्रधानमन्त्री नियुक्त भएको यो पहिलो अवसर हो। यसका साथै बालेन मधेशी समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति समेत बनेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गर्नेबित्तिकै मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नवनियुक्त प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्। नयाँ मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका सुधन गुरुङले गृह मन्त्रालय, स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । शिशिर खनाललाई परराष्ट्र मन्त्रालय र सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले पाएका छन् भने खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री नियुक्त भएका छन्।
त्यसैगरी, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। विक्रम तिमिल्सिनाले सञ्चार मन्त्रालय, प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रालय र दीपक साह (महोत्तरी) ले श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हालेका छन्। सोविता गौतमले कानुन मन्त्रीको रूपमा शपथ लिएकी छन्। गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्।