काठमाडौँ । आदिवासी समुदायको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणनाअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत पाए । ५६ मत रहेको महासंघको निर्वाचनमा ५१ मत खसेको थियो ।
महासंघका निवर्तमान महासचिव दिवस राईका अनुसार २१ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध निर्वाचित भए । त्यस्तै, सात उपाध्यक्षहरूमा क्रमशः अमृतबहादुर सुनुवार ३७ मत, आङ पासाङ शेर्पा ४० मत, चन्द्रलाल राजभण्डारी ३५ मत, रामकुमारसिंह दनुवार ४२ मत ल्याएर निर्वाचित भए । तीन जना उपाध्यक्ष चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध निर्वाचित भए ।
सोहीअनुसार महासचिवमा विमल सारु मगर २९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रेम येक्तेन २० मत पाएर पराजित भए । त्यस्तै, उपमहासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित भए । सोहीअनुसार ८ जना सचिवमा क्रमशः महेन्द्र दुरा २४ मत, सन्तबहादुर चेपाङ २९ मत, शिवचन्द्र मण्डल २५ मत, शैलेन्द्रकुमार ताजपुरिया २४ मत, चकचकी राजवंशी ४१ मत, छेवाङ बुम्छोक गुरुङ २९ मत, जसवी मण्डल २२ मत, बिना मम्बा तामाङ २६ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै, कोषाध्यक्षमा मिङ्मा कामी शेर्पाले २९ मत ल्याएर निर्वाचित भए । उनको प्रतिस्पर्धी खेमराज भुजेल १८ मत प्राप्त गरी पराजित भए । सोहीअनुसार सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध निर्वाचित भए ।
महासंघको ११औँ महाधिवेशन ५ र ६ चैतमा तय गरिएको भए पनि लम्बिएर निर्वाचनको परिणाम आउन दुई दिन ढिलो गरी ८ गते बिहान कुर्नुपरेको निवर्तमान महासचिव राईले बताए । महासंघमा आबद्ध ५६ जातीय संस्थाका प्रतिनिधिहरूबाट एक जातीय संस्थाबाट १ जना मतदाता रहने विधानमा व्यवस्था छ । निर्वाचनमा ५ जना मतदाता अनुपस्थित थिए ।