काठमाडौँ । गैरआवासीय नेपाली संघ (NRNA) को नवनिर्वाचित प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट गरेको छ।
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोली सम्मिलित भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।
भेटमा डा. शर्माले नेपाल सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै एनआरएनएभित्र एकता कायम गर्न सरकारको भूमिकाको प्रशंसा गरे । मन्त्री शर्माले नवनिर्वाचित टोलीलाई बधाई दिँदै संघ एकताबद्ध रहँदै १२औँ अन्तर्राष्ट्रिय महासभा (IGA) तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । एनआरएनएका पहलहरूमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
परराष्ट्रसचिव अमृतबहादुर राईले नयाँ टोलीलाई बधाई दिँदै एनआरएनएको स्थापनाका उद्देश्य प्रभावकारी रूपमा पूरा गर्न उनीहरूको क्षमतामा विश्वास व्यक्त गरे ।

अध्यक्ष डा. हेमराज शर्माले एनआरएनएद्वारा तयार गरिएको मध्यपूर्व क्षेत्रको बैठकको निर्णय प्रतिवेदन मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । जसमा उक्त क्षेत्रका नेपालीहरूको अवस्था, राहत कार्यक्रम तथा आवश्यक कदमहरूको विस्तृत विवरण समेटिएको छ ।
उनले हालै सम्पन्न आईसीसी बैठकहरूको संक्षिप्त जानकारी दिँदै मध्यपूर्व संकटसम्बन्धी छलफल र निर्णयहरू प्रस्तुत गरे । साथै, संकटमा परेका नेपालीहरूको सहयोगार्थ वैदेशिक रोजगार राहत कोषका लागि १ करोड रुपैयाँ संकलन गरिएको जानकारी दिए । नेपाली डायस्पोरासम्बन्धी ‘ह्वाइट पेपर’ तयार भइरहेको उल्लेख गर्दै रोजगारीका अवसर र गैरआवासीय नेपाली नागरिकताको विषयमा केन्द्रित भई डायस्पोरासँगको सम्बन्ध सुदृढ गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो।