काठमाडौँ । तमु धीं यूकेको टोलीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ तथा अफिसियल फोटोग्राफर मिलन तमुसहितको टोलीले सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरेको हो ।
सो क्रममा महासचिव डा. गुरुङले तमु धीं यूकेले गरिरहेका गरिविधिबारे जानकारी गराएका थिए । नेपालको विभिन्न क्षेत्रमा सरकारलाई सहयोग गर्न तयार रहेकोबारे पाँच बुँदे ज्ञापन पत्रसमेत बुझाइएको थियो । ज्ञापन पत्रमा नेपाल सरकारसँग सहकार्य गर्दै संस्कृति, संरक्षण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा लगानी र संयुक्त कार्यक्रम सञ्चालन गर्न तयारी रहेको जनाइएको छ ।
संस्थाले संस्कृति–संस्कारको संरक्षण, गुरुङ समुदायको सांस्कृतिक पहिचान प्रवर्द्धन, होमस्टे विकास, सांस्कृतिक सङ्ग्रहालय स्थापना तथा आन्तरिक–बाह्य पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू संयुक्त रूपमा अगाडि बढाउन सकिने बताएको छ ।
‘तमू धीं यूकेले नेपालमा लगानी गर्न चाहेको सन्दर्भमा नीतिगत स्पष्टता, कर–सुविधा, प्रशासनिक सहजीकरण र एकद्वार प्रणालीजस्ता व्यवस्था गर्नुपर्छ। विशेष गरी पर्यटन, पूर्वाधार, शिक्षा र सीप विकास क्षेत्रमा लगानी आकर्षित गर्न सकिन्छ,’ तमु धींले भनेको छ ।
एनआरएनलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने, बेलायतमा रहेका भूपू सैनिकहरूको सेवासुविधाका विषय पनि तमु धींले उठाएको थियो । ‘विश्वभरका नेपाली समुदायको लामो समयदेखिको मागअनुसार वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ,’ तमु धीं यूकेले भनेको छ, ‘यसले मातृभूमिसँगको सम्बन्ध मजबुत बनाउने, लगानी र सीप हस्तान्तरणलाई प्रोत्साहन गर्नेछ ।’

बेलायतमा रहेका गोर्खा भूपू सैनिकहरूलाई नेपालमै बसेर सेवा–सुविधा पाउने व्यवस्था मिलाउने विषयमा पनि सकारात्मक पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरिएको छ । यस्तै, बेलायतमा हालसम्म गुरुङ समुदायबाट राजदूत नबनाइएको अवस्थालाई मध्यनजर गर्दै समावेशी प्रतिनिधित्वको आधारमा एकपटक गुरुङ समुदायबाट राजदूत नियुक्त गर्ने विषयमा विचार गर्न सकिने पनि तमु धींले जनाएको छ । यसले समुदायको मनोबल बढाउने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्याउने संस्थाको विश्वास छ ।
संस्थाले हालसम्म नेपाललाई विभिन्न क्षेत्रमा ७० करोड रुपैयाँभन्दा बढीको सहयोग गरेको छ । बेलायतमा गोर्खा कप, नेपाली मेला लगायतका कार्यक्रममार्फत नेपाली समुदायलाई जोड्दै आएको र नेपालका शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । कोभिड–१९ महामारीका बेला अक्सिजन व्यवस्थापनदेखि विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याएको अनुभवलाई नेपालभित्रका विकास र पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिने बताइएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्रपति पौडेलले बेलायतमा नेपाली संस्कृति जोगाइराख्न तमु धीं यूकेले गरेका पहलबारे थाहा पाउँदा खुशी लागेको बताए । उनले यस्ता कार्यक्रम र अभियानलाई निरन्तर राख्न सुझावसमेत दिए । आफ्नो कार्यकारी भूमिका नहुने भएकाले ज्ञापनपत्र प्रधानमन्त्री कार्यायलमा पुर्याउने बताएका थिए ।
भेटका क्रममा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, अफिसियल फोटोग्राफर मिलन तमु, काठमाडौँ निवासी लक्की थापा गुरुङलगायत उपस्थित थिए । धमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा कमल गुरुङ भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सकेका थिएनन् ।
भेटको संयोजनका लागि राष्ट्रपतिका स्वकीय सचिव अवज्ञा पौडेल र तमु अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष मनोज गुरुङलाई पनि महासचिव डा. गुरुङले धन्यवाद दिएका छन् ।