नुवाकोट । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरु घरदैलो, पत्रकार भेटघाट र कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
सोही क्षेत्रबाट तेस्रो पटक चुनावी जित निकाल्ने दाउमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले आइतबार सूर्यगढी गाउँपालिकाका विभिन्न वडा र बस्तीहरूमा सघन घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
बिहानैदेखि बेलुकी अबेरसम्म घरदैलोमा देखिएका उम्मेदवार तामाङ बिहानै ८:०० बजे फेदीबेंसी, पिप्ले र माछापोखरी क्षेत्रबाट घरदैलो सुरु गर्दै मतदाताको आँगनमा पुगेका थिए । उनले बिहान ९:०० बजे डि गाउँ र ९:४५ मा कालिमाटीका स्थानीयहरूसँग भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका युवा नेता सुशील सिंह ठकुरीले जानकारी दिए ।
दिनभरिको कार्यतालिकाअनुसार उम्मेदवार तामाङको टोलीले केराबारी, स्वाँरा, चिसापानी, बेसारे, कामथुम, हल्दे, सिम्ले र अर्चले लगायतका क्षेत्रमा पुगेर चुनावीसभा तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएको थियो।
सहिद परिवारसँग भावुक भेट
अपराह्न ४:३० बजे रातमाटेस्थित गणेश मा.वि. एरियामा पुगेएका तामाङले त्यहाँका सहिद परिवारहरूसँग विशेष भेटघाट गरे । सो अवसरमा उनले भने, "सहिदहरूको सपना र उहाँहरूको परिवारको त्यागलाई हामी खेर जान दिने छैनौँ। यो लडाइँ व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनका लागि हो।"
साँझमा पनि उत्साहजनक जनलहर
साँझ ५:०० बजेपछि अचाने, बेलडाँडा, ढाँडे र खारे क्षेत्रमा पुग्दा स्थानीयले तामाङलाई भव्य स्वागत गरेका थिए ।
के भन्छन् उम्मेदवार तामाङ?
घरदैलोका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार तामाङले भने : "नुवाकोटको विकास र समृद्धिको बाँकी काम पूरा गर्न मेरो उम्मेदवारी हो। सूर्यगढीका जनताको यो अभूतपूर्व माया र समर्थनले मेरो जित सुनिश्चित भइसकेको छ। म विकास र सुशासनको सारथि बनेर सधैँ तपाईँहरूकै सेवामा रहनेछु।"
घरदैलो कार्यक्रममा नेकपाका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो । मतदाताहरूले पनि तामाङलाई विकासप्रेमी नेताको रूपमा चित्रण गर्दै यसपटक पनि विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
