पोखरा । इन्टेक टू १९८१ को ४५औँ वार्षिकोत्सव पोखरामा भव्य रूपमा मनाइएको छ । शनिबार पोखरा–१७ विरौटास्थित राजमहल पार्टी प्यालेसमा विशेष कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।
यूके, धरान, बुटवल, स्याङ्जा, बागलुङलगायत ठाउँबाट पोखरा आएका पाहुनालाई शुक्रबार नै बराही होटलमा स्वागत गरी कार्यक्रमबारे जानकारी गराइएको थियो । शनिबार सुरुमा पाहुनाहरूलाई स्वागत (ग्रान्ड वेलकम) गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि इन्टेक टू १९८१ मा भर्ती गरेको लेफ्टिनेन्ट कर्णेल जेपी क्रस रहेका थिए । १०१ वर्षीय प्रमुख अतिथि लेफ्टिनेन्ट कर्णेल जेपी क्रससँग सहभागीले सामूहिक फोटो खिचेका थिए । त्यसपछि कार्यक्रम संयोजक मेजर खुसीमान गुरुङ एमभीओले प्रमुख अतिथिको जीवनीमाथि प्रकाश पारेका थिए ।
-1771688873.jpg)
सहभागीले प्रमुख अतिथिबाट आशीर्वाद पनि लिएका थिए । त्यसलगत्तै प्रमुख अतिथिलाई सम्मानसहित मायाको चिनो प्रदान गरी बिदा गरिएको थियो । प्रमुख अतिथिको बिदाइपछि हलमा प्रवेश गरी वार्षिकोत्सवको दीप प्रज्वलन, केक काट्ने, शुभकामना आदानप्रदान गरी पोखराको हिमाली सांस्कृतिक परिवारले मनोरञ्जनात्मक कार्यक्रम गरेको थियो ।

संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओ, पूर्वअध्यक्षहरू मेजर शोभित हमाल, मेजर हितमान गुरुङ, क्याप्टेन दुर्गा राम्जाली, क्याप्टेन महेन्द्र लिम्बु, वर्तमान अध्यक्ष लेप्टेन सुनिल रानाले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा १७० जना सहभागी थिए । जसमा ७५ जनाको जोडी सहभागी थिए । उनीहरूले राष्ट्रिय गाएपछि दिवंगत नम्बरीहरूको सम्झनामा १ मिनेट मौनधारण गरेका थिए ।

कार्यक्रम सञ्चालन महासचिव शेरबहादुर पुनले गरेका थिए । इन्टेकको टोली वार्षिक कार्यक्रमअन्तर्गत नै आइतबार ४५ वर्षअघि आफूहरू भर्ती भएको स्थान पोखरा १६ दिपस्थित ब्रिटिस क्याम्प भ्रमणमा जानेछन् । त्यहाँ पुरानो दिनको सम्झना गर्ने, गोर्खा म्युजियम अवलोकन र सहयोग हस्तान्तरण कार्यक्रम छ ।
अप्रिल/मे १९८१ मा ३८२ जना नवयुवा ब्रिटिस आर्मीको ब्रिगेड अफ गोर्खाजमा भर्ना भएका थिए । तीमध्ये आधा बीजी डिपो धरानबाट र बीजी पोखराबाट छानिएका थिए । २४ जना क्लर्क (clerical role) का लागि छानिएका थिए, जसमा १२ जना पूर्व र १२ जना पश्चिमका थिए । सँगै तालिम गर्ने जीसीएसपीएफ (GCSP) प्रहरी रिक्रुटहरूको एउटा प्लाटुन पनि थियो, जसले मित्रता गाँस्ने अवसर मिलेको उनीहरूले बताएका छन् ।

डिसेम्बरमा पहिलो चरण (Phase I) सफलतापूर्वक पूरा गरेपछि दोस्रो चरणको स्पेसल टु आर्म्स तालिम सुरु भएको थियो । धेरैजसो आआफ्नो युनिटहरू 1/2GR, 2/2GR, 6GR, 7GR (जुन पछि 1/7 र 2/7 GR बने), 10 GR, QGE, QG सिग्नल र GTR पछि QOGTR हुँदै हाल QOGLR बनेको छ) मा सामेल भए । 7GR का नम्बरीहरू रेजिमेन्टमा सामेल हुने बित्तिकै सन् १९८२ को फकल्यान्ड युद्धको सैन्य अभियानमा सहभागी हुने पहिलो टोली थिए ।

इन्टेकका ३३ जना सदस्यहरूको मृत्यु भइसकेको छ । केहीले तालिम पूरा गर्न सकेका थिएनन् । दिवंगत आत्माहरूको स्वर्गवासको कामनासहित प्रार्थना पनि गरिएको छ ।

