कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा अवस्थित प्रमुख पर्यटकीय क्षेत्र ल्वाङगाउँमा 'क्वोंने–घोताने मार्ग' बन्ने भएको छ ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके, हङकङ र नेपालको संयुक्त आयोजनामा फाल्गुन ३ गते २०८२ (१५ फेब्रुअरी २०२६) भएको संस्थागत भ्रमणका क्रममा उक्त निर्णय भएको हो । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके र ल्वाङगाउँ सामुदायिक होमस्टेको सहकार्यमा गाउँको शिरानामा अवस्थित प्ल्याने बराह मन्दिरसम्म पुग्ने करिब २०० मिटर लम्बाइको क्वोंने–घोताने मार्ग निर्माण गर्ने महत्वपूर्ण निर्णय गरिएको अभियन्ता एसके गुरुङले जानकारी दिए । उनका अनुसार उक्त मार्ग सहारा यूकेको सहयोगमा निर्माण गरिएको “Lwang Village” बोर्डबाट सुरु भई मन्दिर परिसरसम्म जोडिनेछ।
भ्रमण टोली फाल्गुन ३ गते बिहान धम्पुस हुँदै ल्वाङगाउँ पुगेको थियो, जहाँ गाउँलेहरूले नौमती बाजा, फूलमाला तथा परम्परागत तरिकाले स्वागत सत्कारमार्फत भव्य अभिनन्दन गरेका थिए । सोही साँझ सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह सम्पन्न गरिएको थियो ।
फागुन ४ बिहान सूर्योदयसँगै क्षेताक्यु मन्दिर दर्शन, सहारा यूकेद्वारा निर्मित “Lwang Village” बोर्ड अवलोकन, बुद्ध भगवानको दर्शन,चिया बगानको अवलोकन तथा गाउँभित्र विस्तृत भ्रमण कार्यक्रम गरिएको थियो ।
भ्रमण दलमा संस्थाका अध्यक्ष कुमार गुरुङ र मिना गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङ र लछिन गुरुङ, उपाध्यक्ष राम गुरुङ तथा श्रीमती मिना गुरुङ, संरक्षक क्याप्टेन जीवन गुरुङ, चेलीबेटी सचिव ध्रुव गुरुङ र विनोद गुरुङ, कमल गुरुङ (उपाध्यक्ष, तमु धीं यूके), माया गुरुङ (संस्थापक अध्यक्ष, मर्दीखोला आमा समूह तथा तमु समाज यूके आमा समूह), गोलमान गुरुङ (अध्यक्ष, गुरुङ सोसाइटी केन्ट यूके), कृष्ण गुरुङ (निवर्तमान अध्यक्ष, सहारा यूके), लेफ्टिनेन्ट कुसाङ गुरुङ र श्रीमती पञ्च गुरुङ (पूर्वअध्यक्ष, सहारा यूके), चन्द्रबहादुर गुरुङ (अध्यक्ष, कोल्मा बाहकोट समाज यूके), समाजसेवी कविता गुरुङ, रूपा गुरुङ, चन्द्रमान गुरुङ (लम परिवार यूकेका सल्लाहकार), राम गुरुङ, दुर्गा गुरुङ, असमाया गुरुङ, निर्मला गुरुङ, भक्ति गुरुङ, टेकबहादुर गुरुङ, बसन्त गुरुङ, जौमाया गुरुङ तथा मनदेवी गुरुङलगायतका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विदेशमा रहेर पनि मातृभूमि, गाउँ र संस्कृतिप्रतिको गहिरो लगावका कारण प्रत्येक वर्ष देश–विदेशबाट हजारौं पाहुना ल्वाङगाउँ भ्रमणमा आउने गरेका छन् । विशेषगरी सामुदायिक होमस्टे कार्यक्रममार्फत गुरुङ परम्परा, सांस्कृतिक नृत्य, स्थानीय परिकार र आत्मीय आतिथ्यको अनुभव लिन पाउने भएकाले यस गाउँको पर्यटन पहिचान निरन्तर सुदृढ हुँदै गएको छ।
यसै सन्दर्भमा 'गाउँ–गाउँमा पर्यटन विकास र प्रवर्द्धन गरौँ' भन्ने लक्ष्यलाई मूर्त रूप दिन क्वोंने–घोताने मार्ग निर्माणले धार्मिक तथा ग्रामीण पर्यटन विस्तारमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

