पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं वरिष्ठ फोटो पत्रकार मिलन तमुलाई विशेष सम्मान गरेको छ ।
प्रतिष्ठानको २५औँ वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम-२०८२ को अवसरमा तमुलाई 'सम्मान-पत्र' द्वारा सम्मान गरिएको हो ।
लामो समयदेखि प्रवास (लन्डन) मा रहेर सञ्चारको क्षेत्रमा पुर्याएको अमूल्य तथा अविस्मरणीय योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । जापानमा स्थापना गरिएको यस प्रतिष्ठानको अक्षयकोषदाता समेत रहेका तमुले तमु भाषा, भेषभूषा र संस्कृतिको संरक्षण तथा तमु विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
कास्कीको पोखरा-११, रानीपौवास्थित प्रतिष्ठानको कार्यालयमा आयोजित समारोहका बिच उनलाई सम्मान प्रदान गरिएको हो । सम्मान पत्रमा तमुले प्रवासमा रहेर पनि नेपाली सञ्चार क्षेत्र र तमु जातिको उत्थानमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ ।
सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीजङ तमु, प्रमुख अतिथि एवं वरिष्ठ समाजसेवी, तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमु र सचिव कञ्चन तमुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रतिष्ठानले तमुको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना समेत गरेको छ ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले विगत लामो समयदेखि तमु संस्कृति, भाषाको जगेर्ना र जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ ।