पोखरा । तमु धीं यूके, सहारा यूके, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेसहितको टोलीले कास्कीको पर्यटकीय गाउँ धम्पुसको भ्रमण गरेको छ ।
सुरुमा टोली पोखरीस्थित डंयो आहालडाँडा पार्कमा पुगेको थियो । जहाँ क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङका पिता स्वर्गीय काजीमान गुरुङको नाममा परिवारले प्रवेशद्वार बनाएका छन् । कुमारले प्रवेशद्वार र पार्कको बारेमा सबैलाई जानकारी गराएका थिए ।

त्यसपछि टोली नौमती बाजाका साथ कुमारको घरमा पुगेको थियो । त्यहाँ उनकी घरमा आमा र फुपूले सबै पाहुनालाई फूलको माला, खादा, भांग्रा र पछ्यौरी ओढाएर स्वागत गरेका थिए । चियापान गरेको थियो ।
त्यसपछि बाजागाजासहित नै धम्पुस भ्यु होटलमा पुगेका थिए । त्यहाँ पोखरी आमा समूहले नाचगानसहित स्वागत गरे । आमा समूहलाई टोलीले नगद ७० हजार र नौमती बाजा टोलीलाई ५० हजार रुपैयाँ सहयोगसमेत गरेका थिए ।
त्यहाँबाट बिदा भएर भ्रमण टोली तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङका बुबा भूपू प्रधानपञ्च एवं समाजसेवी स्वर्गीय उदयबहादुर गुरुङले निर्माण गरेको उदय माविका पुगेको थियो । कमलले आफ्नो बुबाले विद्यालय स्थापना कसरी गरेका थिए भन्नेबारे जानकारी गराएका थिए । प्रधानाध्यापक धनबहादुर क्षेत्रीले स्कुलको वर्तमान अवस्थाबारे भनाइ राखेका थिए ।

बुबाको तस्बिरमा सबैले माल्यार्पण गरेपछि टोलीले विद्यालयलाई नगद ५५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । कमल र कुमारले आफ्नो गाउँ घुम्न आएका सबै पाहुनाहरूलाई धन्यवाद दिएका थिए ।
भ्रमण टोलीमा गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, तमु धीं यूके ह्याम्सायर इकाईका अध्यक्ष नारायण गुरुङ, तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ, अफिसियल फोटोग्राफर एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सल्लाहकारहरू, क्या जीवनकुमार गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ रहेका थिए ।

यस्तै, क्वोंने घोतानेका महासचिव इन्द्र घोताने, उपाध्यक्ष राम गुरुङ र उनकी धर्मपत्नी मिना गुरुङ, ध्रुव गुरुङ, विनोद गुरुङ, चन्द्रमान गुरुङ, लेप्टेन जसबहादुर गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ र उनकी धर्मपत्नी, निवर्तमान अध्यक्ष क्रिस गुरुङ, तमु धीं यूकेका आमा समूहका पूर्व महासचिव यशोदा गुरुङ, लेप्टेन कुसाङ गुरुङ र उनकी धर्मपत्नी पञ्च गुरुङलगायत भ्रमण टोलीमा रहेका थिए ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङले भ्रमणको बन्दोबस्त मिलाएका थिए । उनी सहारा यूकेका पूर्वअध्यक्ष तथा धम्पुस परिवार यूकेका निवर्तमान अध्यक्षसमेत हुन् ।
