पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छन् ।
गुरुङ चलचित्र हुँदै नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी उनी गुरुङ फिल्म एसोसिएसन हङकङकी अध्यक्ष हुन् । उनको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ । हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् ।
हिमाल गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङबाट खेल्छन् । सहयोग ग्रहणपछि एनपीजेए कास्की अध्यक्ष राम गुरुङले अभियन्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरूको वृत्ति विकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियन्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियन्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।