काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रोबिन शेरचनले संघको आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् ।
लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनए अभियानमा सक्रिय शेरचनले संघभित्रको एकतालाई सुदृढ बनाउने र सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने संस्था निर्माण गर्ने मुख्य एजेन्डासहित नेतृत्वको दाबेदारी प्रस्तुत गर्न लागेका हुन् ।
शेरचनले आइतबार (१ फेब्रुअरी २०२६) जापानको टोकियोस्थित ‘बातुर टोकियो’ मा एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । साँझ ७ बजेदेखि सुरु हुने उक्त घोषणा सभामा भौतिक उपस्थितिका साथै विश्वभरका गैरआवासीय नेपालीहरूले जुममार्फत पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको शेरचनले बताए ।
विगत १५ वर्षदेखि संघमा क्रियाशील शेरचनले ११औं महाधिवेशनमा देखिएका प्राविधिक त्रुटि र तिक्तताबाट पाठ सिक्दै ‘एक मन–एक संगठन’ को भावना अनुरूप संस्थालाई अघि बढाउने संकल्प लिएका छन् ।
आफ्नो उम्मेदवारी घोषणासँगै शेरचनले संघलाई रूपान्तरण गर्न विभिन्न प्रतिबद्धताहरू अघि सार्ने जनाएका छन् । जसमा ‘दरिलो एकता’, ‘समानता, नागरिकता र मताधिकारको सुनिश्चितता’, ‘मर्यादित वैदेशिक रोजगार’, ‘साना-ठुला लगानीको प्रोत्साहन’ तथा ‘संस्थागत पुनर्संरचना, पारदर्शिता र जवाफदेहिता’ जस्ता विषयहरू प्रमुख रहेका छन् ।
उनले संविधान प्रदत्त गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, सर्वोच्च अदालतको आदेश बमोजिम प्रवासमा रहेका नेपालीको मताधिकार र भूतपूर्व गोर्खाहरूको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी मार्च १३, १४ र १५ (२०८२ फागुन २९, ३० र चैत १) गते काठमाडौँमा हुने १२औँ महाधिवेशन नजिकिँदै गर्दा शेरचनले आफू कम बोल्ने तर कामको नतिजा देखाउने स्वभावको भएको बताउँदै संस्थाको कठिन घडीमा नेतृत्व लिने आँट गरेको उल्लेख गरे ।
उनले आफ्नो भावी योजना र साझा अवधारणामा सुझाव दिनका लागि अग्रज अभियन्ता, संस्थापक, र सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई घोषणा सभामा निमन्त्रणा गरेका छन् ।