लन्डन । बेलायतस्थित नेपाली राजदूतावासमा कराते प्रशिक्षक र खेलाडीलाई स्वागत, सम्मान गरिएको छ ।
बुधबार २८ जनवरी २०२६ मा लन्डनको केनसिङटन प्यालेस गार्डेनमा रहेको नेपाली दूतावासमा अन्तर्राष्ट्रिय पदक विजेता नेपाली खेलाडी एरिका गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठ, खेलाडी तारा गुरुङ, र प्रजेशन श्रेष्ठलाई कार्यवाहक राजदूत विपिन दुवाडीले खादासहित स्वागत सम्मान गरेका थिए ।
कार्यक्रममा संक्षिप्त भनाइ राख्दै काव दुवाडीले खेलाडीलाई प्रोत्साहन र हौसला दिनुपर्ने बताए । उनले आआफ्नो क्षेत्रबाट इमानदारितापूर्वक काम गरियो भने देश बनाउँछु भन्न नपर्ने बरु आफै देश बन्ने उल्लेख गरे । खेलाडीहरु दूतावासमा आउँदा खुसी लाग्ने गरेको भन्दै उनले फेरि-फेरि बेलायत आउँदा दूतावास भ्रमण गर्न पनि खेलाडीहरुलाई आग्रह गरे ।
प्रशिक्षक श्रेष्ठले आफूहरुलाई स्वागत सम्मानका लागि कावा नेपाली राजदूत दुवाडीसहित दूतावास परिवारलाई धन्यवाद दिए । डिप्लोम्याट्स्ले देशका लागि सोच्दासोच्दै खेलाडी र कुलकुदप्रति चासो राखेको पाएकोमा खुसी लागेको भन्दै नेपाली खेलाडीलाई प्रोत्साहनकै जरुरत रहेको बताए । उनले देश गरिब भए पनि नेपाली खेलाडीले धनी देशका खेलाडीहरुलाई हराएर इतिहास रच्दै आएको गर्वको विषय सुनाए ।
'देश गरिब भए पनि धनी देशका खेलाडीलाई हराएर हाम्रा खेलाडी उच्च वरीयतामा पुगेका छन् । एरिया गुरुङकै कुरा गर्दा उनको तौल समूहको हिसाबले विश्वभरिमै १३ औं स्थानमा उक्लिन सफल भएकी छिन् ।'
उनले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, उपाध्यक्ष कमल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले बेलायतको व्यस्तताका बाबजुद समय मिलाएर आफूहरुलाई दूतावाससम्म पुर्याइदिएकोमा धन्यवाद दिए । प्रशिक्षक श्रेष्ठले भने, 'जहाँ भए पनि एम्बेसीचाहिँ आफ्नो घरजस्तो लाग्दोरहेछ । गाह्रो सारो पर्दा एम्बेसी जाऔं भन्ने हुन्छ ।'
प्रशिक्षक श्रेष्ठ, खेलाडी गुरुङलगायत पहिलोचोटी नेपाली दूतावास लन्डन पुगेका थिए । ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठ, तारा गुरुङ टर्कीबाट २६ जनवरीमा सिधै लन्डन आएका हुन् ।



