पोखरा । लेखक तथा निर्देशक माओत्से गुरुङद्वारा निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को छायांकन सकिएको छ । मंगलबार नारायणगढ बजारको दृश्य खिच्दै ३३ दिनमा इन्ड कल्याप गरिएको हो ।
छायांकन अवधिभर साथ दिने सबै प्राविधिक तथा कलाकारलाई धन्यवाद दिँदै निर्देशक गुरुङले अब आफूहरू सम्पादन कार्यमा अघि बढेको बताए भने अहिलेसम्म प्रदर्शन मिति तय नगरिएको बताएका छन् । अबको केही दिनमा पोस्ट-प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार रिलिज मिति घोषणा गनेछौं, निर्देशक गुरुङले भने, ‘हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहन्छौं । सोही अनुरुप कुनैपनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरम ।’
गुरुङको पनि लगानी रहने फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विश्वास गुरुङ, दिक्षा गुरुङ, पशुपति राई, बुद्धि तामाङ, माया गुरुङ, विल्सनविक्रम राई, सुरज गुरुङ, मनोज गुरुङ, अनुषा राई, सुनिल थापा, राज थापा काउचा, लुनिभा तुलाधर, प्रतिक्षा गुरुङ, यासिली राईको अभिनय छ ।
लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा फिल्म निर्माण भएको हो । माओत्से गुरुङ फिल्मस् को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ र सपना गुरुङको लगानी हुने फिल्मका निर्माण नियन्त्रक डीबी गुरुङ हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सुरज तमु कास्टिङ निर्देशक, संगीत निर्देशकमामनोज थापा मगर र शिव बराइली छन् ।
यसअघि माओत्से गुरुङको डेब्यू निर्देशकीय नेपाली फिल्म ‘दयारानी’ ले बक्सअफिसमा हिट हुन सफल भएको थियो ।


