लन्डन। तमु समाज यूकेले गुरुङ समुदायको महान् पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) यस वर्ष पनि भव्य र सभ्य मनाएको छ ।
संस्थाले ३ जनवरी २०२६ का दिन लन्डनको ह्यारोस्थित ह्यारो लेजर सेन्टरमा विशेष कार्यक्रम आयोजना गरी सप्री ल्हो (सर्प वर्ग)को बिदाइ तथा त ल्हो (घोडा वर्ग)को स्वागत गरी ल्होछार उत्सव मनाएको हो । प्रमुख अतिथिका रूपमा ब्रेन्ट काउन्सिलका मेयर काउन्सिलर रायन ह्यक, तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले तथा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
उत्सवमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन, लन्डन बरो अफ होनस्लोका पूर्वमेयर काउन्सिलर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका पूर्वमेयर काउन्सिलर जित रानाभाट, लन्डन बरो अफ ब्रेन्टका पूर्वमेयर तथा काउन्सिलर वरलेन ह्यालटेन, लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, तमु धीं यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, गैरआवासीय नेपाली संघ यूकेका महासचिव जुरेन्द्र खजुम लिम्बुलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी तमु समाज यूकेका पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, सल्लाहकारहरू, आमा समूहकी अध्यक्ष बिमला गुरुङ तथा पूर्वअध्यक्ष माया गुरुङ, युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङ, निवर्तमान अध्यक्ष ओमकार गुरुङ साथै गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङ, नेपाली लिंकका पत्रकार नवीन पोखरेललगायत सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।
तमु समाज यूकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष केदारबहादुर गुरुङ संयोजक तथा सल्लाहकार धरमबल गुरुङको सक्रिय भूमिकामा कार्यक्रम सभ्य र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन महासचिव सुब घले, निरज गुरुङ र सन्तोषी गुरुङले गरेका थिए । उपाध्यक्ष केदारबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सुब घलेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए।
सोही अवसरमा तमु समाज यूकेको तर्फबाट निर्माण गरिएको गीत तथा म्युजिक भिडियोले २०८२ पुस १० गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा सर्वोत्कृष्ट गीतसहित पाँच प्रमुख विधामा ऐतिहासिक सफलता हासिल गरेको अवसरमा कलाकार तथा सर्जकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा गीतकार सूर्य गुरुङ, गायक आर.के. गुरुङ, गायिका अनिता गुरुङ तथा निर्देशक सरु गुरुङ राना रहेका थिए। साथै गीतको परिकल्पनाकार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र भिडियो निर्माणमा कुशल नेतृत्व प्रदान गर्ने निवर्तमान अध्यक्ष शिवकुमार गुरुङलाई विशेष कदरपत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रम समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, प्रमुख अतिथि मेयर रायन ह्यक तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङद्वारा खादा, फेटा र सम्मानपत्र प्रदान गरी सम्पन्न गरिएको थियो । समाजको गीतले ऐतिहासिक सफलता हासिल गरेको उपलक्ष्यमा तमु समाज यूकेको तर्फबाट अध्यक्षलाई बधाई तथा प्रशंसापत्र, नेपालबाट प्राप्त सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो ।
सोही अवसरमा तमु समाज यूकेको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै पूर्वकोषाध्यक्ष यामबहादुर गुरुङ र निवर्तमान कोषाध्यक्ष खेमबहादुर गुरुङलाई तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०२६) प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरूसँगै उहाँहरूका जीवनसाथीहरूलाई पनि दोसल्ला र पुष्पगुच्छासहित सम्मान गरिएको थियो।
कार्यक्रममा नेपालबाट आमन्त्रित तमु छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मनोज गुरुङलाई तमु समाज यूकेद्वारा स्वागत तथा सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । प्रत्युत्तरस्वरूप उनले तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को तर्फबाट समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई मायाको चिनो प्रदान गरे । मन्तव्यका क्रममा उनले तमु समाज यूकेले बेलायत र नेपालमा गरेका सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यहरूको प्रशंसा गर्दै भविष्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी तमु समाज यूकेका सल्लाहकार बाबुराम गुरुङ तथा राजकुमारी गुरुङका सुपुत्र–बुहारी सल्लाहकार खेमबहादुर गुरुङ र भद्र गुरुङकी सुपुत्री–ज्वाइँ बेलायती सेनामा क्याप्टेन पदमा पदोन्नति भएका दिप नर्सिङ गुरुङ र उनकी धर्मपत्नी रोजिना गुरुङलाई फेटा, खादा, दोसल्ला र पुष्पगुच्छासहित बधाई तथा सम्मान गरिएको थियो।
सांस्कृतिक सत्रमा नेपालबाट आमन्त्रित कलाकार चिज गुरुङ र निर्जला गुरुङलाई अध्यक्ष, संस्थापक अध्यक्ष तथा आमा समूहकी अध्यक्षद्वारा स्वागत तथा सम्मान गरिएको थियो । अतिथि कलाकारहरूको विशेष सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्यो ।

तमु समाज यूके युवा समूहकी सचिव सुमी गुरुङको कोरियोग्राफीमा तयार पारिएका नृत्य अतिथि कलाकारहरुको प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको अन्त्यमा डिजे प्रज्वलमान गुरुङ र विशाल मोक्तानको धमाकेदार प्रस्तुतिले माहोललाई उत्साहपूर्ण बनाएको थियो ।
यस वर्ष पहिलोपटक गुरुङ भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेस्ट गुरुङ पहिरन प्रतियोगिता आयोजना गरिएको थियो । निर्णायकको निर्णयअनुसार महिलातर्फ निर्मला गुरुङ र पुरुषतर्फ रूपक कुमार गुरुङ उत्कृष्ट घोषित भई कप, नगद पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए ।







