इलाम । इलाम समाज हङकङले गृह जिल्लाका बाढीपहिरो पीडितको सहयोगार्थ करिब १० लाख ५० हजार रुपैयाँ पठाएको छ ।
यस संस्थाका सल्लाहकार शिशिर राई र पूर्वअध्यक्ष दलबहादुर गुरुङले सोमबार जिल्ला सदरमुकाम इलाम नगरपालिकामा आयोजित कार्यक्रममा मृतकका परिवार र घाइतेलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । बाँकी ठाउँमध्ये पायक पर्नेमा संस्थाका गुरुङ र राईसहित कवि तथा लेखक प्रकाश थाम्सुहाङले प्रत्यक्ष रकम वितरण गर्ने भएका छन् ।
अन्य स्थानमा जिल्ला समन्वय समिति (जिसस) र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने जानकारी उक्त कार्यक्रममा दिइएको थियो । जिसस प्रमुख जयप्रकाश राई र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल कार्यक्रममा सहभागी थिए ।
ढकालले विदेशबाट प्राप्त पैसाको सदुपयोग गर्न पीडितलाई आग्रह गरे । बालबच्चा छन् भने पढाउन, खाने छैन भने खानामा र त्यसबाहेक परिवारको हित हुने काममा प्रयोग गर्नुपर्ने सुझाव उनको थियो । उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ । बाँकी रकम असहाय र संरक्षणविहीन बालबालिकाको प्राथमिकता हेरी वितरण गरिने उनको भनाइ छ ।
इलाममा गत असोजमा मौसमी विपद्मा ३९ जनाले ज्यान गुमाएका थिए । जसमध्ये पहिरोबाट ३७ र खोलाले बगाएर दुई जनाको मृत्यु भएको थियो । २६ जना घाइते भएका थिए । ७ सय ११ परिवार विस्थापित भएका थिए ।
३ सय ६५ घरमा पूर्ण र ९ सय ४० वटामा आंशिक क्षति पुगेको थियो । सरकारी भौतिक सम्पत्तिमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबर क्षति भएको थियो । समाजले इलाममा विपत्ति परेसँगै आर्थिक सहयोग संकलन अभियान चलाएको थियो ।