वेल्स । नेपाली संगीत, साहित्य र समग्र सृजनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तीनदिने ‘हाम्रो डबली : Igniting Creativity’ कार्यक्रम २६ देखि २८ डिसेम्बर २०२५ सम्म वेल्सस्थित Nepali Village UK मा भव्य र सफल रूपमा सम्पन्न भएको छ ।
परम्परागत नेपाली गाउँघरको साझा थलो ‘डबली’को अवधारणालाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्ने लक्ष्यसहित आयोजना गरिएको यस ३ दिने आवासीय कार्यक्रममा यूकेका विभिन्न स्थानबाट आएका १२ जना कला तथा साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
व्यस्त र यान्त्रिक जीवनशैलीबाट केही समय विश्राम लिई प्रकृतिसँग नजिकिँदै सामूहिक सिर्जनात्मक ऊर्जा आदान–प्रदान गर्ने उद्देश्य कार्यक्रमले आयोजना गरिएको थियो । पहिलो दिन सहभागीहरूबीच आपसी परिचय र आत्मीयता बढाउने उद्देश्यले कराओके तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
दोस्रो दिन बिहान Sugar Loaf Mountain सम्मको हाइकिङपछि औपचारिक ‘हाम्रो डबली’ कार्यक्रम सम्पन्न भयो, जहाँ ‘मेरो कथा मेरो गीत’ खण्डमा वरिष्ठ संगीतकार विक्रम गुरुङले आफ्नो सांगीतिक यात्राका साथै आफ्ना सिर्जनाहरू सुनाएका थिए ।
‘सदाबहार गीत’ र ‘मेरो सिर्जना’ खण्डमा कलाकारहरू रबिन श्रेष्ठ, योगेन्द्र गुरुङ, जीवन गुरुङ, रेयर सुनुवार, सेनहाङ लिम्बू,सन्देश राईले गीत प्रस्तुत गर्नुभएको थियो भने कथाकार विक्रम भट्टराईले लघुकथा र याक यति याक फाउन्डेसनका अध्यक्ष शेरा गुरुङले आफ्नो जीवन यात्रा संक्षेपमा सुनाएका थिए ।
-1767200760.jpeg)
कला, साहित्य सिर्जनामा AI ले पार्ने असरबारे छलफल गर्न ‘AI र हामी’ शीर्षक खण्डमा सहभागीहरूबीच खुला संवाद र विमर्श पनि भएको थियो । कार्यक्रमलाई मधु गुरुङ र रबिन बान्तावा राईले सञ्चालन गरेका थिए ।
तेस्रो दिन सहभागीहरूले आसपासका प्राकृतिक स्थलहरू—Talybont reservoir, waterfall लगायतका क्षेत्रको अवलोकन गरेपछि सामूहिक लन्च र बिदाइ कार्यक्रमसँगै कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा सहभागी सर्जकहरूले ‘हाम्रो डबली’ले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नेपाली भाषा, साहित्य र संगीतलाई प्रवासमा पनि जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन् ।